परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाली विदेशमन्त्री ह्युनबीच भेटवार्ता, पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

nepalkuro.com

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच भेटवार्ता भएको छ।

आइतबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै विपद्पछिको पुनर्निर्माणका विषयमा छलफल भएको हो।

भेटमा मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा द्रुत उद्धार टोली तथा कोरियाली विपद् राहत टोली पठाउनुका साथै मानवीय सहायता र राहत सामग्री उपलब्ध गराएकोमा दक्षिण कोरिया सरकारप्रति आभार व्यक्त गरेको मन्त्रालयले जनाएको छ।

मन्त्री खनालले विपद्पछि दिगो तथा जोखिम प्रतिरोधी पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै आगामी पुनर्निर्माणमा समेत दक्षिण कोरियाबाट निरन्तर सहयोगको अपेक्षा गरेको बताए।

दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्न आफ्नो सरकार इच्छुक रहेको बताएका छन्। उनले जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको क्षतिप्रति विश्व समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गरे।

जलवायु परिवर्तनका विषयमा नेपाल र दक्षिण कोरियाले अन्तर्राष्ट्रिय मञ्चमा संयुक्त रूपमा आवाज उठाउनुपर्नेमा समेत उनले जोड दिएको मन्त्रालयले जनाएको छ।

यसैबीच, भोटेकोशी बाढीका क्रममा अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत नौ जना दक्षिण कोरियाली नागरिक बेपत्ता भएका छन्। भेटका क्रममा विदेशमन्त्री ह्युनले उनीहरूको अवस्थाबारे समेत परराष्ट्रमन्त्री खनालसँग जानकारी लिएको बताइएको छ।

बाढीपछि खोज तथा उद्धार अभियानमा सहयोग गर्न दक्षिण कोरियाले ‘कोरिया डिजास्टर रिलिफ टिम’ नेपाल पठाएको छ। उक्त टोली अहिले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिरहेको छ।

नेपालमा आएको विनाशकारी बाढीपछि दक्षिण कोरियाले उद्धार, राहत र आगामी पुनर्निर्माणमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुलाई दुई देशबीचको मानवीय तथा विपद् व्यवस्थापन सहकार्य थप सुदृढ हुने संकेतका रूपमा हेरिएको छ।

प्रतिक्रिया