उद्योगमन्त्रीमा दिपक कुमार साहलाई पठाउने प्रधानमन्त्री बालेन्द्र शाहको तयारी

nepalkuro.com

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी–४ बाट निर्वाचित सांसद दिपक कुमार साहलाई उद्योगमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री कार्यालयका एक सचिवालय सदस्यका अनुसार साहको नाम उद्योगमन्त्रीका लागि सिफारिस भएको छ। यद्यपि, उनको नियुक्ति अहिलेसम्म औपचारिक रूपमा पुष्टि भइसकेको छैन।

पार्टी सभापति रवि लामिछानेको टिमले नेता गणेश पराजुलीलाई अगाडि सार्ने तयारी गरेको भए पनि प्रधानमन्त्री शाहले दिपक कुमार साहलाई नै उद्योगमन्त्री बनाउने तयारी गरिरहेको पार्टी स्रोतले जनाएको छ। पेशाले इन्जिनियर रहेका साहलाई उनको प्राविधिक अनुभवका कारण उद्योग मन्त्रालयको जिम्मेवारी दिन लागिएको बताइएको छ।

यसअघि उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार नै आफ्नो पदबाट राजीनामा दिएकी थिइन्। उनको राजीनामापछि रिक्त रहेको उद्योग मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा प्रधानमन्त्री शाहले छलफल अघि बढाएका हुन्।यता राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार शाक्यले मन्त्री नियुक्तिसम्बन्धी अहिलेसम्म कुनै औपचारिक पत्र प्राप्त नभएको बताएका छन्। मिडियामा आएका समाचार र चर्चाबाहेक प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपति कार्यालयमा कुनै औपचारिक पत्र नआएको उनको भनाइ छ।

हाल सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको र बैठकको निर्णयपछि साहलाई आजै मन्त्री पदको शपथ ग्रहण गराउन सकिने सम्भावना रहेको स्रोतहरूले बताएका छन्। तर मन्त्रिपरिषद् बैठकको औपचारिक निर्णय सार्वजनिक नभइसकेकाले यसै भन्न सक्ने अवस्था भने छैन।

सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्षसमेत रहेका साह फागुन २१ को निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। जलवायु परिवर्तनसम्बन्धी विभिन्न विषयमा काम गर्दै आएका उनी पार्टीभित्र प्रभावशाली प्राविधिक नेतामध्ये एक मानिन्छन्।

प्रधानमन्त्री बालेन्द्र शाह तथा नेता अमरेशकुमार सिंहसँग निकट रहेको बताइने साह बालेनकै सक्रियतामा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको दाबी पनि गरिएको छ।साहले फागुन २१ गते भएको निर्वाचनमा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गर्दै सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रतिक्रिया