एमाले नेता महेश बस्नेतले अहिले चर्चामा आएको “Gen Z Nepo baby अभियान” कुनै स्वतन्त्र वा रचनात्मक आन्दोलन नभएको र यो पुनरुत्थानवादी र अराजकतावादी प्रवृत्तिले सोशल मिडिया तथा पैड मिडियालाई हतियार बनाएर राज्य, त्यसका संयन्त्र, स्थापित दल र नेताहरूमाथि बदनाम अभियान सञ्चालन गर्न थालेको आरोप लगाएका छन । घिनलाग्दो प्रयास असफल भएपछि तिनै तत्वहरूले आफ्नो असफलता ढाकछोप गर्न र गलत लोकप्रियता कमाउन यसलाई अफवाहका रूपमा प्रयोग गरिरहेको उनले बताएका छन्।
बस्नेत भन्नुहुन्छ –…अहिले चर्चामा आएको “Gen Z Nepo baby अभियान” कुनै स्वतन्त्र वा रचनात्मक आन्दोलन होइन। यो पुनरुत्थानवादी र अराजकतावादी प्रवृत्तिले सोशल मिडिया तथा पैड मिडियालाई हतियार बनाएर राज्य, त्यसका संयन्त्र, स्थापित दल र नेताहरूमाथि बदनाम अभियान सञ्चालन गर्न थालेको घिनलाग्दो प्रयास असफल भएपछि तिनै तत्वहरूले आफ्नो असफलता ढाकछोप गर्न र गलत लोकप्रियता कमाउन यसलाई अफवाहका रूपमा प्रयोग गरिरहेका छन्।
यसै सन्दर्भमा मेरो छोरीको विवाहजस्तो पवित्र पारिवारिक अवसरलाई समेत ईर्ष्या र द्वेषका आधारमा टिकटकमार्फत तोडमोड गरी गलत प्रचार गरिएकोप्रति म गम्भीर आपत्ति प्रकट गर्दछु। मेरो स्पष्ट चुनौती छ। मेरो छोरी, ज्वाइँ वा मेरो परिवारले नातावाद, कृपावाद वा राज्यका कुनै सेवा–सुविधा अनुचित रूपमा प्रयोग गरेका छैनन्। छ भने पुष्टी गराउन चुनौति दिन्छु। मेरो र मेरो परिवारको सम्पत्ति तथा जीवनशैली पूर्ण पारदर्शी छ र म गौरवपूर्वक जुनसुकै स्थानमा यसको पुष्टि गर्न सक्छु।
मेरो चिकित्सक छोरी र राष्ट्रसेवक ज्वाइँको सामाजिक मर्यादामा आँच आउने, मानसिक यातना दिने र भ्रम फैलाउने यस्ता गतिविधि आपराधिक प्रकृतिका हुन्।
साथै रास्वपाका केही विवादित व्यक्तिहरूले आफ्ना व्यक्तिगत झगडा र लफडासम्ममा मेरो नाम जोड्ने प्रयास गरेको समेत देखिन्छ। यस्तो प्रवृत्तिको म कडा भर्त्सना गर्दछु।
अतः, म सरकारसमक्ष माग गर्दछु l यस्ता अपराधी तत्वहरूलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याइयोस् र टिकटकजस्ता सामाजिक सञ्जाललाई अपराध र द्वेष फैलाउने माध्यम नबनाइयोस्।Ú
२२ भदौ २०८२, आईतबार ०१:५९ मा प्रकाशित