रसुवा बाढीपीडितलाई केन्द्रीय कारागारका कैदीबन्दीले दिए ५ लाख ५१ हजार राहत

nepalkuro.com

काठमाडौं– काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरूले रसुवा बाढीपीडितका लागि राहत रकम हस्तान्तरण गरेका छन्।

बिहीबार कारागारमा आयोजित एक कार्यक्रमबीच कैदीबन्दीका प्रतिनिधिहरूले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई ५ लाख ५१ हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरेका हुन्।

उक्त रकम बैंकमार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप तथा राहत कोष’मा जम्मा गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।

उनले रसुवाको बाढी तथा नुवाकोट र त्रिशूली क्षेत्रमा भएको ठूलो क्षतिलाई ‘महाप्रलय’ सरहको राष्ट्रिय विपत्ति भन्दै पीडितहरूको उद्धार र राहतका लागि सबैको सहयोग आवश्यक रहेको धारणा राखे।

प्रमुख जिल्ला अधिकारी पौडेलले कानुनी दायराभित्र कारागारमा रहेका कैदीबन्दीहरू पनि यसै देशका नागरिक भएको उल्लेख गर्दै विपत्तिको यस घडीमा पीडितहरूप्रति उनीहरूको मन जोडिएको बताए।

उनका अनुसार सहयोग रकम आर्थिक रूपमा जति भए पनि त्यसको मानवीय महत्त्व र भावना अत्यन्त ठूलो तथा अमूल्य हुन्छ।

रसुवा बाढीपीडितको सहयोगका लागि केन्द्रीय कारागारका कैदीबन्दीहरूले गरेको यो सहयोगले विपत्तिको समयमा मानवीय एकता र सहकार्यको सन्देश दिएको छ।

प्रतिक्रिया