काठमाडौं– सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता स्वीकृत गरेको छ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी असोज ६ देखि १० गतेसम्म महासभामा सहभागी हुन प्रधानमन्त्री शाहको नेतृत्वमा हुने अमेरिका भ्रमणलाई स्वीकृति प्रदान गरेको हो।
यसैगरी, बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटीको बैठकमा सहभागी हुन नेपाली वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।
देशमा विकराल बन्दै गएको अनुचित लेनदेन अर्थात् मिटरब्याजसम्बन्धी अपराध नियन्त्रणका लागि आवश्यक विधेयक तर्जुमा गर्न मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति समेत दिएको छ।सामाजिक सुरक्षा तथा लक्षित वर्गको पहिचानका क्रममा सरकारले काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कुल २७ स्थानीय तहका १७ हजार ४ सय ३८ गरिब घरपरिवारको सूची पनि स्वीकृत गरेको छ।
त्यस्तै, संवैधानिक तथा प्रशासनिक क्षेत्रमा रिक्त पदपूर्तिका लागि सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा भक्तपुरका डा. हरिप्रसाद लम्साललाई नियुक्त गरेको छ। आयोगको सदस्यमा मकवानपुरका रामशरण सापकोटा तथा महिला सदस्यमा काठमाडौंकी विष्णु घिमिरे रिमाल नियुक्त भएका छन्।
प्रशासनिक क्षेत्रतर्फ सरकारले दुई सहसचिवलाई विशिष्ट श्रेणी अर्थात् सचिवमा बढुवा गरेको छ।
जसअनुसार सहसचिव विनोदबहादुर कुँवरलाई सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवका रूपमा पदस्थापन गरिएको छ। त्यस्तै, सहसचिव उत्तरकुमार खत्रीलाई पनि सचिवमा बढुवा गर्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवको जिम्मेवारी दिइएको छ।