साउदी अरबको पवित्र शहर मक्कातर्फ आएको भनिएको एक ड्रोनलाई साउदीको हवाई सुरक्षा प्रणालीले मक्काको प्रतिबन्धित हवाई क्षेत्रमा प्रवेश गर्नुअघि नै खसालेको जनाएको छ।
साउदी नेतृत्वको गठबन्धनका अनुसार ड्रोन मक्काको दक्षिणी क्षेत्रमा देखिएको थियो। सुरक्षा बलले त्यसलाई पहिचान गरी नष्ट गरेको जनाएको छ। घटनामा मस्जिद अल–हराम वा काबामा कुनै क्षति पुगेको विवरण छैन।
साउदी पक्षले उक्त ड्रोन यमनका हुथी विद्रोहीले मक्कातर्फ पठाएको आरोप लगाएको छ। साउदी अधिकारीहरूले पवित्र शहरको सुरक्षालाई आफ्नो ‘रेड लाइन’ का रूपमा लिँदै घटनाप्रति कडा प्रतिक्रिया जनाएका छन्।
तर हुथी पक्षले भने साउदीको आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। हुथी राजनीतिक ब्युरोका सदस्य हाजेम अल–असदले मक्कालाई लक्षित गरेको दाबीलाई ‘पुरानो र झुटो आरोप’ भन्दै अस्वीकार गरेका छन्।
यसैबीच पछिल्ला दिनमा साउदी अरबका विभिन्न क्षेत्रमा हुथी समूहसँग सम्बन्धित भनिएका ड्रोन तथा मिसाइल आक्रमणको जोखिम बढेको भन्दै मक्का, जेद्दा र आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।
यस घटनाले साउदी अरब र हुथी समूहबीच पछिल्लो समय बढिरहेको तनावलाई थप चर्काउने संकेत देखिएको छ। यद्यपि, ड्रोन मक्कातर्फ आएको विषयमा साउदीको दाबी र हुथी पक्षको अस्वीकारबीच स्पष्ट मतभेद रहेको छ।