त्रिशूली–३ ‘ए’को उद्धारबाट रास्वपाका सांसद ढकाल र न्यौपाने फर्किए
nepalkuro.com
१९ भदौ २०८३, शुक्रबार
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र श्रीराम न्यौपाने त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा भइरहेको उद्धार तथा खोजी कार्यबाट फिर्ता भएका छन्। पार्टीको सचिवालय बैठकको निर्णयअनुसार दुवै सांसद स्थलमार्ग हुँदै काठमाडौँ फर्किएका हुन्।
इन्जिनियरसमेत रहेका सांसद ढकालले सामाजिक सञ्जालमार्फत सुरुङभित्रबाट मानिसको आवाज सुनिएको र उद्धार कार्यले आशाजनक मोड लिएको बताएका छन्।
उनले लेखेका छन्, “आवाज सुनिएको छ, अब इन्जिनियरिङ काम सकिएको छ, उद्धारको टिमको काम अगाडि छ। इन्जिनियरिङ हिसाबले यो ऐतिहासिक सफलता हासिल भएको छ।”
उनका अनुसार करिब सातदेखि आठ दिन लगाएर सुरुङभित्रबाट २० हजार घनमिटरभन्दा बढी लेदो र ढुंगा हटाइएको हो। सीमित तथा यथास्थितिका उपकरण प्रयोग गरेर समेत चुनौतीपूर्ण काम सम्पन्न गरिएको उनले बताएका छन्।
ढकालले आफूहरूले बोलेर वा सल्लाह दिएर मात्रै नभई प्रत्यक्ष काम गरेर देखाएको दाबी गरेका छन्।
“सदनलगायत धेरै ठाउँमा हामीले सकेनौँ, कमजोर भयौँ, उपकरण भएन भनेर भनिरहँदा हामीले गरेर नै देखाइदिएका छौँ, आशा जगाएका छौँ। बोलेका होइनौँ, सल्लाह दिएका होइनौँ, गरेर देखाएका हौँ,” उनले भनेका छन्।
आफ्नो आठ दिनको अनुभव शब्दमा बयान गर्न कठिन रहेको उल्लेख गर्दै ढकालले आफूहरू पैदल विदुर पुगेर आज काठमाडौँ फर्किने र अब सांसदको जिम्मेवारीमा पुनः फर्किने बताएका छन्।
“८ दिनको भोगाइ यसमा लेखेर सम्भव छैन। हिँडेर विदुर पुगेर आज काठमाडौँ फर्किन्छौँ। आजबाट सांसदको जिम्मेवारीमा पुनः फर्किनेछौँ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।