रवीन्द्र मिश्रको सनसनीपूर्ण दाबी– ‘भदौ २३–२४ को विद्रोह संसारकै सबैभन्दा सफल विदेशी जासुसी अपरेसन हुन सक्छ’

nepalkuro.com

काठमाडौं– पूर्वपत्रकार एवं राजनीतिज्ञ रवीन्द्र मिश्र ले गत वर्ष भदौ २३ र २४ गते नेपालमा भएको विद्रोहलाई संसारकै सबैभन्दा सफल ‘विदेशी-जासुसी विद्रोह’ का रूपमा टिप्पणी गरेका छन्।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक टिप्पणीमा मिश्रले उक्त विद्रोहमा हालसम्म अज्ञात अन्तर्राष्ट्रिय जासुसी संस्था वा संस्थाहरूले निर्दोष नेपाली युवाहरूको पीडा, असन्तोष, आक्रोश र अपेक्षालाई उनीहरूलाई थाहै नदिई प्रयोग गरेको हुन सक्ने दाबी गरेका हुन्।

मिश्रका अनुसार विद्रोहका क्रममा छोटो समयमै देशका राष्ट्रियता र सार्वभौमसत्तासँग जोडिएका प्रमुख राज्य संरचनामाथि गम्भीर आक्रमण भएको थियो।

‘यस्तो विद्रोह जसमा ६ घण्टाको अवधिभित्र देशको राष्ट्रियता र सार्वभौमसत्ताका प्रमुख तीन धरोहर; कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका अनि राष्ट्रप्रमुखको निवास जलिसकेको थियो। संसारमा आजसम्म त्यस्तो भएको मलाई थाहा छैन,’ मिश्रले लेखेका छन्।

उनले उक्त घटनापछिको लक्ष्यमा योजनाकारहरू सफल भए वा भएनन् भन्नेबारे आफूलाई जानकारी नभएको बताउँदै योजनाकारहरू अझै आफ्नो ‘मिसन’मा सक्रिय हुन सक्ने सम्भावनासमेत औँल्याएका छन्।

मिश्रले भविष्यमा भदौ २३ र २४ को घटनासँग सम्बन्धित योजनाकार, योजना र कार्यान्वयनका गोप्य विवरण सार्वजनिक भए त्यसमा आधारित जासुसी चलचित्र बन्न सक्ने टिप्पणी पनि गरेका छन्।

‘भविष्यमा कुनैबेला भदौ २३ र २४ को योजनाकार, योजना र कार्यान्वयनका कतिपय गोप्य सूचनाहरू सार्वजनिक भएपछि त्यसबारे हलिउडको कुनै विश्वविख्यात निर्देशकले जासुसी सिनेमा निर्माण गरेको खण्डमा त्यो संसारकै उत्कृष्टमध्येको जासुसी सिनेमा बन्नेछ भन्नेमा म विश्वस्त छु,’ उनले लेखेका छन्।

मिश्रका अनुसार संसारका विभिन्न स्थानमा यस्ता ‘कोभर्ट अपरेसन’ भएका उदाहरण छन्, जहाँ स्थानीय जनता वा युवाले आफूले स्वतःस्फूर्त रूपमा आन्दोलन गरेको ठाने पनि पर्दापछाडि अन्य शक्तिहरूले त्यसलाई दिशा र प्रभाव पारिरहेका हुन्छन्।

‘जहाँ प्रयोग हुनेले हामीले गरेको भन्ठान्छन् तर गर्नेहरू अरू नै हुन्छन्। नेपालमा भएको त्यही हो,’ उनले टिप्पणी गरेका छन्।

नेपालको दीर्घकालीन राष्ट्रिय हित, आन्तरिक शान्ति तथा क्षेत्रीय स्थिरताका लागि भदौ २३ र २४ को घटनाको गहिराइसम्म पुगेर सत्यतथ्य खोज्नुपर्ने मिश्रको भनाइ छ।

उनले नेपालले भविष्यको राष्ट्रिय हित सुनिश्चित गर्न उक्त घटनाको निष्पक्ष र गम्भीर विश्लेषण गर्नुपर्ने तथा नेपालको आन्तरिक र यस क्षेत्रकै शान्ति एवं स्थिरताका लागि नयाँ समझदारीमा जानुपर्ने तर्क गरेका छन्।

मिश्रको यो टिप्पणी व्यक्तिगत राजनीतिक विश्लेषण र दाबीका रूपमा आएको हो। उनले उल्लेख गरेका अज्ञात अन्तर्राष्ट्रिय जासुसी संस्था वा ‘कोभर्ट अपरेसन’ सम्बन्धी दाबीलाई पुष्टि गर्ने ठोस प्रमाण भने सार्वजनिक रूपमा प्रस्तुत गरेका छैनन्।

प्रतिक्रिया