सौराहामा पर्यटक अभाव, सेप्टेम्बरका अधिकांश बुकिङ रद्द
nepalkuro.com
२४ भदौ २०८३, बुधबार
चितवन – ७५ कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटल मंगलबार पूर्णरूपमा खाली थियो । पछिल्ला दिनमा होटलका कोठा खाली रहने अवस्था नियमितजस्तै बनेको छ ।
क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे सञ्चालक रहेको उक्त होटलमा यस समयमा करिब ६० प्रतिशत बुकिङ थियो । रसुवाको भोटेकोशीमा आएको बाढी तथा सडक सञ्जालमा भएको अवरोधका कारण ती बुकिङ रद्द भएपछि होटल सुनसान बनेको हो ।
अध्यक्ष पाण्डेका अनुसार सौराहाका अन्य होटलको अवस्था पनि उस्तै छ । नेपालका सीमित भूभागबाहेक अन्य क्षेत्रमा बाढीको प्रभाव नरहे पनि पर्यटकले धमाधम बुकिङ रद्द गरिरहेका छन् । कृष्णभिरको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भए पनि वैकल्पिक सडक सञ्चालनमा रहेको उनले बताए । उनका अनुसार यस महिनाका सबै बुकिङ रद्द भइसकेका छन् ।
भारतको गोरखपुरबाट सौराहा भ्रमणका लागि बुकिङ गरेका १०० पर्यटकले समेत आफ्नो कार्यक्रम स्थगन गरेका छन् । पाण्डेका अनुसार ती पर्यटकले नेपालमा विपद्को अवस्था रहेकाले अहिले भ्रमण गरेर रमाउन नसक्ने बताएका थिए ।
‘अन्तरराष्ट्रियस्तरमा अहिले नेपालमा बाढीपहिरोको जोखिम नभएको सन्देश प्रवाह गर्नुपर्छ,’ उनले भने ।
गत वर्ष यही समयमा जेन–जी आन्दोलनका कारण सुस्ताएको पर्यटन यस वर्ष भने निकै राम्रो हुने अपेक्षा व्यवसायीले गरेका थिए । तर, सडक अवरोधका कारण अपेक्षा विपरीत पर्यटक आगमन प्रभावित भएको छ ।
सौराहाको होटल भिष्टाका सञ्चालक रमेश सिलवालका अनुसार भारतीय पर्यटक बढी आउने यो समयमा सडक अवरोधले व्यवसायमा प्रत्यक्ष असर पारेको छ । उनका अनुसार बाढी आउँदाभन्दा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि बढी बुकिङ रद्द भएका छन् ।
‘भोटेकोशीमा बाढी आउँदा केही रद्द भए पनि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा बाँकी सबै बुकिङ रद्द भएको छ,’ उनले भने ।
मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरधामलगायत धार्मिक क्षेत्रमा आउने भारतीय पर्यटकले बुकिङ रद्द गर्दा त्यसको प्रत्यक्ष प्रभाव सौराहामा परेको व्यवसायीको भनाइ छ । ‘अन्तरराष्ट्रियस्तरमा बाढीको प्रभाव सीमित ठाउँबाहेक अन्यत्र छैन भन्ने सन्देश दिन सक्नुपर्छ,’ सिलवालले भने ।
होटल सङ्घ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरेका अनुसार विभिन्न देशले नेपाललाई असुरक्षित सूचीमा राखेका कारण विदेशी पर्यटकले बुकिङ रद्द गरेका छन् । वर्षात्पछि स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेर सौराहा भरिने गरे पनि यसपटक बाढी र सडक अवरोधका कारण आन्तरिक पर्यटकसमेत आउन नसकेको उनले बताए ।
उनका अनुसार सेप्टेम्बर र अक्टोबरका लागि गरिएका अधिकांश बुकिङ रद्द भएका छन् । सेप्टेम्बरका सबै बुकिङ रद्द भइसकेका छन् भने अवस्था सुधार भए अक्टोबरका केही बुकिङ जोगिने अपेक्षा व्यवसायीले गरेका छन् । त्यसपछिका महिनामा भने पर्यटक आगमन पूर्ववत् हुने आशा गरिएको छ ।
यतिबेला सौराहामा औसत पाँच प्रतिशत मात्रै पर्यटक रहेको अनुमान गरिएको छ । गत वर्ष यही समयमा २५ देखि ३० प्रतिशतसम्म पर्यटक हुने गरेका थिए । केन्द्रीय सदस्य घिमिरेले अन्तरराष्ट्रिय सञ्चारमाध्यममार्फत नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश प्रवाह गर्नुपर्ने बताए ।
सरकारले विश्वका विभिन्न देशमा रहेका नेपाली राजदूतमार्फत नेपालको वर्तमान अवस्थाबारे सम्बन्धित देशमा सूचना प्रवाह गर्न सके पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।
सौराहाको केसीज रेष्टुरेन्ट एन्ड होमका सञ्चालक नरेश गिरीले चोकमै रहेको आफ्नो रेष्टुरेन्ट तथा होटलसमेत सुनसान बनेको बताए । विगतमा यही समयमा रेष्टुरेन्टमा पर्यटकको भीड हुने गरे पनि अहिले भएका बुकिङसमेत रद्द भएको उनले बताए । बुकिङ रद्द हुने क्रम हेर्दा नोभेम्बरसम्मको अवस्था पनि नकारात्मक देखिएको उनको भनाइ छ ।
भोटेकोशी बाढीमा भारतीयसहित विदेशी पर्यटकसमेत प्रभावित भएका कारण अन्तरराष्ट्रिय जगत्मा नेपाल असुरक्षित रहेको सन्देश गएको व्यवसायीको गुनासो छ । सीमित भूगोलमा मात्रै बाढीको प्रभाव रहे पनि नेपालका अन्य क्षेत्र सुरक्षित छन् भन्ने सन्देश अन्तरराष्ट्रियस्तरमा पुर्याउन नसक्दा पर्यटन क्षेत्रमा नकारात्मक असर परेको उनीहरूको भनाइ छ ।
सौराहामा १२० भन्दा बढी होटल छन् । ती होटलमा एकै दिन पाँच हजारभन्दा बढी पर्यटकलाई राख्न सक्ने क्षमता रहेको व्यवसायीले बताएका छन् । काठमाडौँबाट सौराहाका लागि दैनिक पर्यटक बस सञ्चालन हुने गरे पनि पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरो गएपछि ती बससमेत रोकिएका छन् ।
हवाई भाडा महँगो हुनुका साथै हवाई उडानमा उच्च चाप रहेकाले पनि पर्यटक सहज रूपमा सौराहा आउने अवस्था नरहेको व्यवसायी बताउँछन् । मुख्य रूपमा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक सौराहामा बस्ने गर्छन् । त्यसैगरी, देशका विभिन्न भागबाट गोष्ठी, बैठक, सभा तथा सम्मेलनका लागि पनि सौराहा आउने गरिन्छ ।
सौराहालाई नेपालको तेस्रो प्रमुख पर्यटकीय गन्तव्यका रूपमा लिइन्छ भने सफारी पर्यटनका हिसाबले यो पहिलो गन्तव्य हो ।