एजेन्सी– गाजामा बिहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका चार जनाको मृत्यु भएको प्यालेस्टिनी अस्पताल तथा सुरक्षा अधिकारीहरूले बताएका छन्।
उत्तरी गाजा पट्टीको बेत लाहिया परियोजना क्षेत्रमा इजरायली आक्रमणले एउटा घरमा प्रहार गरेपछि अहमद परिवारका चार जना सदस्यको शव फेला परेको जनाइएको छ।
गाजा सहरस्थित अल–शिफा अस्पतालका अधिकारीहरूले मृतकमध्ये १२ र आठ वर्षका दुई बच्चाको शवको पहिचान भइसकेको बताएका छन्।
हमासको नियन्त्रणमा रहेको गाजाका एक प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार इजरायली लडाकु विमानले मध्यरातपछि बेत लाहिया र जबालिया शरणार्थी शिविरको केन्द्रमा छुट्टाछुट्टै आक्रमण गरेको थियो। इजरायली सेनाले विस्थापित मानिसहरू बसिरहेका तम्बु तथा एम्बुलेन्समा समेत गोलीबारी गरेको स्रोतले दाबी गरेको छ।सुरक्षा स्रोतले इजरायलले गाजा पट्टीमा आक्रमणलाई निरन्तरता दिएको जनाएको छ। इजरायलले गत वर्षको अक्टोबरमा संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा युद्धविराम गर्न सहमति जनाएको भए पनि गाजा नियन्त्रणको प्रक्रिया अगाडि बढाएको बताइएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासलाई लक्षित आक्रमणमा कुनै कमी नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
हमासले इजरायलविरुद्ध सन् २०२३ अक्टोबर ७ मा अभूतपूर्व आक्रमणको नेतृत्व गरेको थियो। त्यसपछि इजरायलले गाजामा व्यापक सैन्य कारबाही जारी राख्दै आएको छ।
इजरायली सेनाले आइतबार सबी हदर अल–अथम अल–बत्रहीलाई गाजा पट्टीमा इजरायली सेनाविरुद्ध विस्फोटक उपकरण जडान गरेको आरोपमा मारिएको जनाएको थियो।इजरायली आक्रमणबाट युद्धविराम घोषणा भएदेखि हालसम्म एक हजार ३०० भन्दा बढी मानिसको ज्यान गएको जनाइएको छ। इजरायली सेनाले सोही अवधिमा आफ्ना पाँच सैनिक तथा एक जना नागरिक ठेकेदारको मृत्यु भएको जनाएको छ।