काठमाडौं– मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले मंगलबार समूहगत चरणको आफ्नो अन्तिम खेल खेल्दैछ । नेपाल र हङकङबीचको खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ ।
अघिल्ला तीनवटै खेलमा शानदार जित हात पारेको नेपाल अन्तिम खेलअगावै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ । नेपालले पहिलो खेलमा बहराइनलाई सात विकेटले, दोस्रो खेलमा आयोजक मलेसियालाई छ विकेटले तथा तेस्रो खेलमा साउदी अरेबियालाई पाँच विकेटले पराजित गरेको थियो ।
मंगलबार हङकङलाई पराजित गरे नेपाल सहजै समूह ‘ए’को विजेता बन्नेछ । तर, हङकङसँग पराजित भए नेपाल र हङकङ दुवैको समान ६ अंक हुनेछ । त्यसपछि नेट रन रेटका आधारमा समूह विजेताको टुंगो लाग्नेछ ।
हाल समूह ‘ए’को तालिकामा ६ अंकसहित नेपाल पहिलो स्थानमा छ । मलेसिया र हङकङको समान चार–चार अंक छ । नेट रन रेटका आधारमा मलेसिया दोस्रो तथा हङकङ तेस्रो स्थानमा छन् । साउदी अरेबिया र बहराइनको समान दुई अंक छ ।
नेपाल र हङकङबाहेक समूह ‘ए’का अन्य टोलीले आफ्नो अन्तिम खेल खेलिसकेका छन् । त्यसैले साउदी अरेबिया र बहराइनको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भइसकेको छ ।
नेपाल मंगलबार विजयी भए नेट रन रेटका आधारमा मलेसिया र हङकङमध्ये एक टोली समूह उपविजेताका रूपमा सेमिफाइनलमा पुग्नेछ । तर, हङकङले नेपाललाई पराजित गरे नेपाल र हङकङ दुवै सेमिफाइनलमा पुग्नेछन् भने मलेसिया उपाधि होडबाट बाहिरिनेछ ।
हाल नेट रन रेटमा नेपाल हङकङभन्दा निकै अगाडि छ । नेपालको नेट रन रेट २.०९२, मलेसियाको ०.५६८ र हङकङको –०.१६० रहेको छ ।
यता, समूह ‘बी’मा ६ अंकसहित संयुक्त अरब इमिरेट्स (यूएई) पहिलो स्थानमा छ । ओमान, कतार र कुवेतको समान चार–चार अंक छ भने सबै खेल हारेको सिंगापुर पाँचौं स्थानमा छ । समूह ‘बी’को अन्तिम खेल पनि मंगलबार यूएई र ओमानबीच हुनेछ । अन्य तीन टोलीले भने आफ्नो अन्तिम खेल खेलिसकेका छन् ।
एसीसी प्रिमियर कप ५० ओभरको प्रतियोगिता हो । प्रतियोगिताको उपाधि जित्ने टोली आगामी एसिया कपका लागि छनोट हुनेछ ।
आगामी एसिया कप सन् २०२७ को जुन १८ देखि जुलाई ४ तारिखसम्म बंगलादेशमा आयोजना हुँदैछ । छ टोली सहभागी हुने उक्त एसिया कपमा आईसीसीका पूर्ण सदस्य राष्ट्रका रूपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान यसअघि नै छनोट भइसकेका छन् ।