काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै सञ्चार क्षेत्र निरन्तर रूपान्तरण भइरहे पनि अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई सञ्चार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताएका छन्।
सार्वजनिक सेवा प्रसारण संस्था नेपाल र सामुदायिक रेडियो प्रसारक सङ्घको आयोजनामा मंगलबारदेखि काठमाडौंमा सुरु भएको ‘एसिया प्यासिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट’ (एआइबिडी) को २४औँ सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले कृत्रिम बौद्धिकता (एआई), डिजिटल प्लेटफर्म र नयाँ प्रविधिलाई आत्मसात् गर्दै सत्यतथ्यमा आधारित विश्वसनीय पत्रकारितालाई प्राथमिकता दिनुपर्ने बताए।
उनले सञ्चार प्रविधि परिवर्तन भए पनि नागरिकको सूचना पाउने अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताजस्ता आधारभूत मूल्य र सिद्धान्तमा परिवर्तन आउन नहुने धारणा व्यक्त गरे।
“प्रविधि परिवर्तन हुन सक्छ, सञ्चारका माध्यम र स्वरूप परिवर्तन हुन सक्छन्, तर नागरिकको सूचनाको अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत मूल्य परिवर्तन हुनुहुँदैन,” मन्त्री तिमिल्सिनाले भने।
उनले सञ्चार स्वतन्त्रतासँगै सञ्चारमाध्यमको जिम्मेवारी पनि जोडिएको उल्लेख गर्दै नागरिकलाई सही, निष्पक्ष, सन्तुलित र जवाफदेही सूचना उपलब्ध गराउनु सञ्चारमाध्यमको प्रमुख दायित्व भएको बताए।
गलत सूचना र दुष्प्रचारको समाधान प्रतिबन्ध वा नियन्त्रणमा मात्र खोज्न नहुने उनको भनाइ थियो। यसका लागि बलियो पत्रकारिता, मिडिया साक्षरता, पारदर्शिता, प्रभावकारी व्यावसायिक मापदण्ड र नागरिकको विश्वास अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने उनले बताए।
मन्त्री तिमिल्सिनाले विशेषगरी संकट, प्राकृतिक विपद्, सार्वजनिक स्वास्थ्यलगायत जनचासोका विषयमा आमसञ्चारमाध्यमको भूमिका अझ महत्वपूर्ण हुने बताए।
त्यस्ता परिस्थितिमा नागरिकलाई समयमै सही र विश्वसनीय सूचना उपलब्ध गराउनुका साथै समाजमा विश्वास र स्थिरता कायम गर्न जिम्मेवार सञ्चारमाध्यमले महत्वपूर्ण योगदान पुर्याउन सक्ने उनको भनाइ थियो।
उनले एआई, गलत सूचना र दुष्प्रचार सीमापार फैलिन सक्ने तथा जलवायु परिवर्तन र प्राकृतिक विपद्का प्रभावसमेत बहुदेशीय हुने भएकाले अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।
विभिन्न देशका ज्ञान, प्रविधि र अनुभव आदानप्रदान गर्दै नयाँ चुनौतीको सामना गर्नुपर्नेमा जोड दिँदै मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रलाई प्रविधिमैत्री, जिम्मेवार र विश्वसनीय बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए।