प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा बुझाएको छ ।
नक्कली कागजातका आधारमा तिब्बती शरणार्थीलाई जर्मन पठाउन खोजेको आरोपमा मुद्दा चलाएको एक सातापछि सीआईबीले भट्टराईलाई पक्राउ गरेको हो ।
अदालतमा पेस भएपछि भट्टराईको बयान हुनेछ, त्यसपछि अदालतले थुनछेक आदेश गर्नेछ ।प्रहरीको सीआईबीले जिल्ला अदालतमा पेस गरेको आरोपपत्र अनुसार, २०६५ सालदेखि २०६६ सालसम्म परराष्ट्र मन्त्रालयको राहदानी शाखामा कार्यरत रहदा भट्टराईले पाँच सय थान ट्राभल डकुमेन्ट बुझेका थिए । आफूले बुझेका ट्राभल डकुमेन्ट वास्तविक व्यक्तिहरूलाई जारी गर्नुपर्नेमा तीनजना तिब्बतीहरूलाई नक्कली शरणार्थी बनाएर जर्मन पठाउन खोजेको भेटिएको थियो ।
काठमाडौंस्थित जर्मन दूतावासले २८ असार, २०६८ मा सीआईबीमा पत्र पठाएर पाँच जना शंकास्पद व्यक्तिहरूका बारेमा अनुसन्धान गर्न आग्रह गरेको थियो । दूतावासले तेन्जिङ नाम्ग्याल चुंगोत्साङ, तेन्जिङ तेन्दर चुङसुङ लगायत पाँच जनाको नाममा सन २००९ मा ट्राभल डकुमेन्ट बनेको र त्यो फर्जी भएको हुनसक्ने दूतावासको पत्र थियो । तिनै फर्जी कागजातका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
२०६५ सालमा राहदानी शाखाको अभिलेख गर्ने कर्मचारी बच्चुराम केसीले गरेको बयान अनुसार, त्यतिबेला शाखा अधिकृतहरू रामप्रसाद सुवेदी र सुरेन्द्र थापा दुवैजना राहदानी शाखामा काम गर्थे । उनीहरूले पासपोर्ट र ट्राभल डकुमेन्टमा तोक लगाउने र हस्ताक्षरमार्फत प्रमाणीकरणको काम गर्थे ।
कागजात सबै आफूले तयार गरे पनि त्यसमा शाखा अधिकृत रामप्रसाद सुवेदीले हस्ताक्षर गरेको भनी उनले बयान गरेका थिए । सहसचिव भइसकेका सुवेदी हाल जेनेभास्थित संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधिको रूपमा कार्यरत छन् ।
त्यतिबेला परराष्ट्र मन्त्रालयमा काम गरेका र पछि विभिन्न जिम्मेवारीमा रहेका सहसचिव भट्टराई २०८१ सालमा सहसचिव भएका थिए । उनी हाल मन्त्रालयको श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा प्रमुख थिए ।