भोटेकोशी बाढीमा सम्पर्कविहीन बर्दियाका नागरिकको पहिचानका लागि डीएनए नमूना सङ्कलन सुरु

nepalkuro.com

बर्दिया – भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका बर्दियाका नागरिकको अवस्था पहिचान सुनिश्चित गर्न आफन्तको डीएनए नमूना सङ्कलन आजदेखि सुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलका अनुसार सम्पर्कविहीन व्यक्तिका आफन्तलाई डीएनए नमूना दिन आह्वान गर्दै जरुरी सूचना जारी गरिएको छ । सूचनाअनुसार सम्पर्कविहीन व्यक्तिका फस्ट डिग्री रिलेसनअन्तर्गत बुवा, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले नमूना दिन सक्नेछन् ।

बाढीमा परी सम्पर्कविहीन भएका नागरिकको पहिचान सुनिश्चित गर्न उनीहरूका आफन्तको नमूना सङ्कलन गर्न लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डीएनए नमूना सङ्कलन जिल्ला प्रहरी कार्यालय, बर्दिया गुलरियामा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । नमूना सङ्कलन कार्यमा जिल्ला अस्पतालले समेत सहयोग गर्नेछ ।

प्रहरी उपरीक्षक पौडेलले दुई दिनसम्म डीएनए नमूना सङ्कलन गरिने जानकारी दिँदै सम्पर्कविहीन व्यक्तिका आफन्तलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भएर नमूना दिन आग्रह गरेका छन् ।

नमूना दिन आउने आफन्तले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात र पासपोर्ट साइजका दुई प्रति फोटो अनिवार्य रूपमा ल्याउनुपर्ने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बर्दिया जिल्लामा हालसम्म ७४ जना सम्पर्कविहीन रहेका छन् । बारबर्दिया नगरपालिका, बाँसगढी नगरपालिका, गेरुवा गाउँपालिका लगायतका क्षेत्रबाट नागरिक सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया