भोटेकोशी बाढीपीडितका लागि चीनबाट २७ टन राहत सामग्री काठमाडौं आइपुग्यो

nepalkuro.com

काठमाडौँ– रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि चिनियाँ संस्था **चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सीएफआरडी)**ले २७ टन राहत सामग्री काठमाडौं ल्याएको छ।

सीएफआरडीले सञ्चालन गरेको ‘८.२६ नेपाल मडस्लाइड रेस्क्यु अपरेसन’ अन्तर्गत पहिलो चरणको राहत सामग्री बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो।

बाढीको लेदो र ढुंगासहितको तीव्र बहावले बस्ती, सडक, पुल तथा अन्य पूर्वाधारमा क्षति पुर्‍याएपछि सीएफआरडीको नेपाल कार्यालयले तत्काल आपत्कालीन प्रतिक्रिया संयन्त्र सक्रिय गरी प्रभावित क्षेत्रमा अवस्थाको मूल्यांकन तथा राहत वितरण सुरु गरेको थियो।

पहिलो चरणमा चीनबाट ल्याइएको राहत सामग्रीमा १७५ पाल, १ हजार कम्बल, १ हजार न्यानो कपासका कोट, १ हजार आपत्कालीन मानवीय राहत बाकस र ६ हजार मेडिकल प्याकिङ ब्याग रहेका छन्।

करिब २७ टन तौलका यी सामग्रीको मूल्य १० लाख चिनियाँ युआनभन्दा बढी रहेको सीएफआरडीले जनाएको छ। नेपाल सरकारको विपद् व्यवस्थापन संयन्त्रसँगको समन्वयमा राहत सामग्री रसुवाका प्रभावित क्षेत्रमा पठाइनेछ।

यसअघि सीएफआरडीले नुवाकोट क्षेत्रमा १४ पाल, ५०० खाद्यान्न प्याकेज, ५०० परिवारका जीवनयापन सामग्री र ५ हजार सौर्य बत्ती उपलब्ध गराउने काम अघि बढाइसकेको छ। खाद्यान्न प्याकेजमा चामल, तेल र दाललगायत सामग्री छन्।

सीएफआरडीले प्रभावित समुदायको बदलिँदो आवश्यकता र अवस्थाका आधारमा आगामी दिनमा पनि सहयोग जारी राख्ने जनाएको छ। राहत सामग्री जुटाउन हाइफ्लायर क्वान्ट, बेइजिङ टोङसिनयुआन र झेजियाङ अन्जिहुईलगायत चिनियाँ उद्यम तथा सहयोगीहरूले योगदान गरेका छन्।

नेपालमा सीएफआरडीको मानवीय सहकार्य भने नयाँ होइन। २०७२ सालको भूकम्पपछि नेपालमा आपत्कालीन उद्धार तथा पुनर्निर्माणबाट सुरु भएको संस्थाको संलग्नता समुदाय विकास, युवा तालिम, स्वच्छ खानेपानी, कृषि विकास तथा विपद् व्यवस्थापनसम्म फैलिएको छ।

कोभिड–१९ महामारीका साथै जाजरकोट, सिन्धुपाल्चोक र गोरखाका विभिन्न विपत्तिमा समेत संस्थाले सहयोग गरेको जनाएको छ।

प्रतिक्रिया