चितवनमा तीन सवारीसाधन ठोक्किँदा २१ वर्षीय युवकको मृत्यु, एक घाइते

nepalkuro.com

चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान मोटरसाइकल, ट्रक र कार एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार नारायणगढबाट रामनगरतर्फ जाँदै गरेको मोटरसाइकल विपरीत दिशाबाट आएका ट्रक र कारसँग ठोक्किएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१३ निवासी २१ वर्षीय सन्देश विष्ट गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा केहीबेरअघि मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा सवार तनहुँको भानु नगरपालिका–७ निवासी १९ वर्षीय पुकार श्रेष्ठ घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न ट्रक, कार तथा मोटरसाइकल र सम्बन्धित चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया