विपद् व्यवस्थापनमा भारत, चीन र कोरियासहित मित्रराष्ट्रबाट प्राविधिक सहयोग
nepalkuro.com
१६ भदौ २०८३, मङ्गलबार
काठमाडौं– परराष्ट्र मन्त्रालयले विपद् व्यवस्थापनका लागि विभिन्न मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग प्राप्त भएको जनाएको छ।
परराष्ट्र मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले खोज तथा टनेल उद्धारका साथै डीएनए पहिचानका क्षेत्रमा अन्तर्राष्ट्रिय प्राविधिक सहयोग प्राप्त भएको जानकारी दिए।
उनका अनुसार भारतबाट आएको २४ सदस्यीय टनेल उद्धार टोली नेपाली सेनासँग समन्वय गरी चिलिमे र लाङटाङ जलविद्युत् आयोजना क्षेत्रमा परिचालन गरिएको छ। त्यस्तै, चीनबाट आएको ९ सदस्यीय टनेल उद्धार टोली नेपाली सेनासँगको समन्वयमा माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजना क्षेत्रमा खटिएको छ।
त्यसैगरी, दक्षिण कोरियाबाट पनि उद्धार टोली नेपाल आइपुगेको प्रवक्ता पौडेलले जानकारी दिए।
डीएनए पहिचानतर्फ भारतबाट १९ सदस्यीय डीएनए विश्लेषण विज्ञ टोली गत अगस्ट २९ देखि कार्यक्षेत्रमा रहेको उनले बताए। चीनबाट चार सदस्यीय फोरेन्सिक टोली ल्याइएको तथा सिंगापुरबाट विपद् पीडित पहिचान टोली ल्याउन समन्वय भइरहेको उनले जानकारी दिए।
तत्काल पहिचान हुन नसकेका शवहरूको डीएनए नमुना सुरक्षित राखी अन्तर्राष्ट्रिय मापदण्डअनुसार अस्थायी रूपमा गाडिएको मन्त्रालयले जनाएको छ।
प्रवक्ता पौडेलले विपद्बाट भएको क्षतिको मूल्याङ्कन गरी ‘विपद्पछिको आवश्यकता मूल्याङ्कन’ (Post-Disaster Needs Assessment) तयार गरिने बताए। सोही मूल्याङ्कनका आधारमा दीर्घकालीन पुनःस्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आह्वान गरिने मन्त्रालयले जनाएको छ।