काठमाडौँ– नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरले नख्खु कारागार, कुपण्डोलस्थित गुरुद्वारा तथा काठमाडौँको सुकेधारास्थित एजिङ केयर सेन्टरमा सञ्चालन गरेको निःशुल्क आँखा शिविरमार्फत एक हजार २२६ जनाको आँखा परीक्षण गरेको छ।
अस्पतालले कारागारका कर्मचारी, कैदीबन्दी, थुनुवा, ज्येष्ठ नागरिक तथा सर्वसाधारणलाई लक्षित गरी सञ्चालन गरेका शिविरमा आँखा परीक्षणसँगै आवश्यक औषधि र चस्मासमेत निःशुल्क उपलब्ध गराएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाइँले जानकारी दिए।
नख्खु कारागारमा सञ्चालन गरिएको शिविरमा सबैभन्दा धेरै ९०७ जनाको आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा मोतीबिन्दु, दृष्टिदोष तथा मनसुनका बेला देखिने विभिन्न आँखासम्बन्धी समस्याको पहिचान भएको अस्पतालले जनाएको छ।
विशेषज्ञसहित आठ जनाको प्राविधिक टोलीले सञ्चालन गरेको उक्त शिविरमा २० जनामा मोतीबिन्दु पहिचान गरिएको थियो भने ४२१ जनालाई आँखाको औषधि प्रदान गरिएको गोसाइँले बताए। मोतीबिन्दु देखिएका बिरामीको कारागार व्यवस्थापनसँगको सहकार्यमा केही समयपछि निःशुल्क शल्यक्रिया गर्ने तयारीसमेत गरिएको छ।
त्यस्तै, आँखा परीक्षणका क्रममा पढ्न र लेख्न समस्या देखिएका १४६ जना कैदीबन्दीलाई निःशुल्क चस्मा र औषधि उपलब्ध गराइएको छ। शिविरमै उपचार सम्भव नभएका ९२ जनालाई थप उपचारका लागि नेपाल आँखा अस्पताल पठाउन सिफारिस गरिएको अस्पतालले जनाएको छ।
शिविरका क्रममा अस्पतालको प्राविधिक टोलीले कैदीबन्दी, थुनुवा तथा कर्मचारीलाई आँखा स्वास्थ्य, सुरक्षा र उचित हेरचाहसम्बन्धी चेतनामूलक अभिमुखीकरणसमेत दिएको थियो। नेपाल आँखा अस्पतालले केन्द्रीय कारागार, नख्खु कारागार र डिल्लीबजारस्थित सदरखोर कारागारसँग सम्झौता गरी त्यहाँ रहेका कैदीबन्दी, थुनुवा तथा कर्मचारीलाई नियमित आँखा उपचार सेवा उपलब्ध गराउँदै आएको छ।
यसैबीच, लायन्स क्लब अफ नीलबाराही र ललितपुर महानगरपालिका–१० को सहजीकरणमा कुपण्डोलस्थित सिख धर्मावलम्बीको धार्मिकस्थल गुरुद्वारामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा २१४ जनाको आँखा परीक्षण गरिएको छ।
उक्त शिविरमा आठ जनामा मोतीबिन्दु पहिचान भएको थियो। परीक्षण गराएका १०० जना बिरामीलाई नजिक पढ्न तथा लेख्न सहयोग पुग्ने चस्मा निःशुल्क उपलब्ध गराइएको अस्पतालले जनाएको छ। साथै, १४१ जनालाई आवश्यक औषधि प्रदान गरिएको र १९ जनालाई थप उपचारका लागि अस्पताल पठाउन सिफारिस गरिएको थियो।
एजिङ केयर सेन्टरमा पनि निःशुल्क आँखा शिविर
नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित एजिङ केयर सेन्टरमा ज्येष्ठ नागरिक तथा स्थानीयलाई लक्षित गरी सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा १०५ जनाको आँखा जाँच गरिएको छ।
परीक्षणका क्रममा एजिङ केयर सेन्टरमा रहेका नौ जना ज्येष्ठ नागरिक र स्थानीय पाँच जनासहित १४ जनामा मोतीबिन्दुको पहिचान भएको अस्पतालले जनाएको छ। सेन्टर र स्थानीय समुदायका गरी २२ जनालाई नजिक पढ्न तथा लेख्न सहयोग पुग्ने चस्मा निःशुल्क उपलब्ध गराइएको प्रमुख कार्यकारी अधिकृत गोसाइँले जानकारी दिए।
उक्त शिविरको यसअघि नेपाल आँखा अस्पतालका कार्यसमिति सदस्य तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर राजाराम श्रेष्ठले उद्घाटन गरेका थिए।
नेपाल आँखा अस्पतालले समुदायका विभिन्न वर्गसम्म पहुँच विस्तार गर्दै कारागारभित्र रहेका कैदीबन्दीदेखि ज्येष्ठ नागरिक र सर्वसाधारणसम्म निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा पुर्याउने अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ।