‘गलत विकासले विपत्ति निम्त्यायो, विपद् जोखिम मूल्याङ्कनबिनाको विकास रोक्नुपर्छ’

nepalkuro.com

ललितपुर– जलस्रोतविज्ञ तथा पूर्वजलस्रोतमन्त्री इन्जिनियर दीपक ज्ञवालीले विकासका नाममा गरिएका अव्यवस्थित अभ्यासका कारण नेपालले पछिल्लो समय ठूला विपद्को सामना गर्नुपरेको बताएका छन् । उनले नदी तथा खोलाको प्राकृतिक बहाव क्षेत्र मिचेर बस्ती र पूर्वाधार निर्माण गर्ने प्रवृत्तिले बाढी तथा पहिरोबाट हुने क्षति बढाएको बताए ।

जल तथा मौसमविद् समाज नेपालसँगको सहकार्यमा एभरेष्ट इन्जिनियरिङ कलेजले मंगलबार आयोजना गरेको ‘भोटेकोशी–त्रिशूली बाढी २०२६ : कारण, प्रभाव, पूर्वसूचना प्रणाली तथा विपद् जोखिम न्यूनीकरणका उपाय’ विषयक संगोष्ठीमा ज्ञवालीले नदी किनारमा सडक निर्माण र त्यससँगै बढेको बजारीकरण तथा सहरीकरणले बस्ती विस्तार हुँदा प्राकृतिक जोखिम थप बढेको बताए ।

“हाम्रा गलत विकासले विपत्ति निम्त्याउँछ । पहिला खोलाको छेउछाउभन्दा डाँडाकाँडा र समथर भागमा बस्ती बसाउने चलन थियो । जनसङ्ख्या बढ्दै जाँदा समयक्रमसँगै हामीले त्यो कुरा बिर्सँदै गयौँ,” उनले भने ।

उनले नेपालको भौगोलिक अवस्था संवेदनशील रहेको र कुन क्षेत्रमा कहिले पहिरो जाने वा बाढी आउने भन्ने निश्चित नहुने बताए । पृथ्वीको तापक्रम बढ्दै जाँदा मनसुनमा अत्यधिक वर्षा र तापक्रम वृद्धिका कारण हिमपहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिमसमेत बढिरहेको उनको भनाइ छ ।

ज्ञवालीले विपद् जोखिमको पर्याप्त मूल्याङ्कन नगरी आयोजना निर्माणको योजना बनाउँदा नेपालका धेरै जलविद्युत् आयोजनामा क्षति पुग्ने गरेको बताए । यस्तो प्रवृत्तिले अन्ततः बैंकिङ क्षेत्र तथा बिमा कम्पनीसमेत प्रभावित हुने उनको भनाइ छ ।

“सन् १९९८ बाट नेपालमा जलवायु परिवर्तनको सरोकारका विषयमा छलफल सुरु भएको हो । छलफल धेरै भएका छन् तर हामीले ध्यान दिएका छैनौँ । जलवायु परिवर्तनको असर र भूगर्भीय अस्थिरताले पनि हामी असुरक्षित छौँ,” उनले भने ।

रसुवामा आएको पछिल्लो बाढी पनि प्रकृतिको संवेदनशीलतालाई बेवास्ता गर्दै गरिएका विकासका कारण थप क्षति भएको उनको तर्क थियो । यस्ता विपद्को सामाजिक प्रभाव लामो समयसम्म रहने उनले बताए ।

१०० वर्षको बाढी अध्ययन गरेर आयोजना डिजाइन गर्न सुझाव

संगोष्ठीमा सिभिल इन्जिनियर तथा जलविद्युत् पूर्वाधारविद् तारानाथ सापकोटाले विगत १०० वर्षको बाढी तथा प्राकृतिक जोखिमको अध्ययन गरेर मात्र जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारको डिजाइन गर्नुपर्नेमा जोड दिए ।

नेपालमा निश्चित नदी प्रणालीलाई केन्द्रमा राखेर जलविद्युत् अध्ययन गर्ने परम्परा कमजोर रहेको बताउँदै उनले पूर्वाधार योजना दीर्घकालीन र दिगो सोचअनुसार हुन नसकेको बताए ।

“विकासका नाममा समस्यामा पार्ने नीति उपयुक्त हुँदैन । विपद्बाट क्षतविक्षत भएको जलविद्युत् आयोजनालाई रेजिलियन्ट बनाउन सकिन्छ कि सकिँदैन भन्ने विषयमा राम्रो अध्ययन आवश्यक छ,” उनले भने ।

नेपालजस्तो भौगोलिक रूपमा संवेदनशील क्षेत्रमा जलविद्युत् आयोजना निर्माण गर्दा हिमताल तथा हिमनदी विस्फोटबाट प्रभावित हुन सक्ने क्षेत्रको पहिचान गरी सुरक्षित स्थानमा आयोजना निर्माण गर्नुपर्ने उनको सुझाव थियो ।

सीमापार विपद् व्यवस्थापनमा नेपाल–चीन समन्वय आवश्यक

त्रिभुवन विश्वविद्यालयका इन्जिनियरिङ भूगर्भविद् प्रा. डा. रञ्जनकुमार दाहालले मेलम्ची, थामे, कागबेनी र रसुवालगायतका विपद्का घटना दोहोरिँदै गएको भन्दै सीमापार विपद् व्यवस्थापन र सूचना प्रणालीमा नेपालले विशेष ध्यान दिनुपर्ने बताए ।

उनका अनुसार हिमाली क्षेत्रमा उत्पन्न हुने बाढी तथा अन्य विपद् छोटो समयमै सीमावर्ती क्षेत्रमा पुग्न सक्ने भएकाले दुई देशबीच पूर्वसूचना तथा सूचना आदानप्रदानको प्रभावकारी संयन्त्र आवश्यक छ ।

“अहिलेका जति पनि विपद्का भिडियोहरू देख्यौँ, ती सबै विपद्का घटना सुरु भएको पाँच मिनेटमा सिमानामा आइपुगेका छन् । सीमापार विपद् व्यवस्थापन र सूचना प्रणालीमा काम गर्न ध्यान दिनुपर्ने छ,” उनले भने ।

उनले यस विषयमा नेपालले चिनियाँ पक्षसँग थप समन्वय गर्नुपर्ने आवश्यकता औँल्याए ।

भूउपग्रहबाट हिमताल र हिमनदीको नियमित निगरानी गर्नुपर्ने

काठमाडौँ विश्वविद्यालयका हिमनदी तथा हिमतालविज्ञ प्रा. डा. रिजानभक्त कायस्थले हिमनदी तथा हिमतालबाट उत्पन्न हुन सक्ने विपद्को जोखिम न्यूनीकरणका लागि भूउपग्रहबाट प्राप्त तस्बिर तथा तथ्याङ्कको नियमित अध्ययन गर्नुपर्ने बताए ।

उनका अनुसार हरेक हप्ता भूउपग्रहबाट प्राप्त तस्बिरको मूल्याङ्कन गरी सम्भावित जोखिम पहिचान गर्न सकिन्छ । त्यसका आधारमा तत्कालीन सुरक्षा योजना बनाएर काम गर्नुपर्ने उनको सुझाव छ ।

भूउपग्रहबाट प्राप्त तथ्याङ्कको मूल्याङ्कन गर्न छुट्टै संस्थागत संयन्त्र र आवश्यक प्रविधिमा पहुँच विस्तार गर्नुपर्ने उनले बताए ।

नेपालमा तीन हजार ८०० भन्दा बढी हिमनदी र दुई हजार ३७४ हिमताल रहेको जानकारी दिँदै कायस्थले हिमबाढीका कारण नेपालले ठूलो क्षति व्यहोर्नुपरेको बताए ।

उपलब्ध प्रविधिको अधिकतम उपयोग गर्न सुझाव

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका वरिष्ठ व्यवस्थापक तथा भूसूचनाविज्ञ वीरेन्द्र बज्राचार्यले मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि भूउपग्रहसम्बन्धी उपलब्ध सेवा र प्रविधिको प्रभावकारी उपयोग गर्नुपर्ने बताए ।

नेपालसँग सम्बन्धित विभिन्न सङ्घसंस्था तथा निकायसँग उपलब्ध प्रविधिको उपयोग गर्दै विपद् पूर्वतयारी तथा प्राविधिक क्षमता अभिवृद्धिमा काम गर्नुपर्ने उनको भनाइ थियो । साथै विपद् व्यवस्थापनका क्षेत्रमा चिनियाँ अनुसन्धान तथा तथ्याङ्क प्रविधिको समेत उपयोग गर्नुपर्ने उनले बताए ।

एभरेष्ट इन्जिनियरिङ कलेजका प्राचार्य हरिकृष्ण श्रेष्ठले नदीले हरेकपटक आफ्नो बहाव क्षेत्र देखाइरहेको अवस्थामा त्यसलाई बेवास्ता गरेर मानव बस्ती तथा पूर्वाधार निर्माण गर्नु अव्यवस्थित र अव्यावहारिक भएको बताए ।

उनले उपत्यकामा समेत पुलमुनि बाटो बनाउनेलगायतका संरचना निर्माण प्राकृतिक बहाव र जोखिमलाई बेवास्ता गर्ने उदाहरण भएको धारणा राखे ।

भोटेकोशी–त्रिशूली बाढीको कारण र प्रभावबारे विज्ञबीच छलफल

संगोष्ठीमा भोटेकोशी नदी प्रणालीमा आएको आकस्मिक बाढीले रसुवादेखि त्रिशूली नदीको तटीय क्षेत्रसम्म पुर्‍याएको क्षति, बस्ती, सडक, पुल, सञ्चार तथा अन्य महत्वपूर्ण पूर्वाधारमा परेको प्रभावबारे छलफल भएको थियो ।

विज्ञहरूले बाढीको सम्भावित कारण, जोखिम मूल्याङ्कन, नदी प्रणालीमा परेको प्रभाव, पूर्वसूचना तथा प्रारम्भिक चेतावनी प्रणाली, विपद् पूर्वतयारी र भविष्यमा यस्ता विपद्को जोखिम न्यूनीकरणका उपायबारे आफ्ना धारणा राखेका थिए ।

साथै भोटेकोशी–त्रिशूली बाढीपछिको उद्धार, राहत, पुनःस्थापना तथा भविष्यमा विपद् प्रतिरोधी पूर्वाधार निर्माणका विषयमा विज्ञ, प्राविधिक तथा सरोकारवालाबीच ज्ञान र अनुभव आदानप्रदान गरिएको थियो ।

प्रतिक्रिया