नेत्रज्योति सङ्घद्वारा भोटेकोशी बाढीपीडितका लागि एक करोड ४१ लाख सहयोग

nepalkuro.com

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख ४१ हजार १४१ रुपैयाँ सहयोग गरेको छ ।

सङ्घका महासचिव भरतबहादुर चन्दले बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक तथा भौचर हस्तान्तरण गर्नुभयो ।

गैरनाफामुखी सामाजिक संस्थाको सञ्जालअन्तर्गतका अस्पताल, आँखा उपचार केन्द्र तथा जिल्ला शाखालगायत संस्थागत स्रोतबाट ९९ लाख ७४ हजार ५०६ रुपैयाँ र कर्मचारी तथा स्वयंसेवकबाट ४१ लाख ६६ हजार ६३५ रुपैयाँ सङ्कलन गरिएको सङ्घले जनाएको छ ।

यही भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । बाढी प्रभावित नागरिकको दैनिक जीवन, स्वास्थ्य तथा जीविकोपार्जनमा परेको गम्भीर असरलाई मध्यनजर गर्दै सरकारले आह्वान गरेको उद्धार कोषमा सहयोग गर्ने निर्णयअनुसार रकम सङ्कलन गरिएको सङ्घले जनाएको छ ।

सङ्घअन्तर्गत सञ्चालित विभिन्न अस्पताल तथा आँखा उपचार केन्द्र, जिल्ला शाखा, समाजसेवी, शुभेच्छुक तथा कर्मचारीबाट प्राप्त व्यक्तिगत सहयोगसमेत एकीकृत गरी उक्त रकम कोषमा जम्मा गरिएको हो ।

आर्थिक सहयोगसँगै सङ्घले विपद् प्रभावित नागरिकको स्वास्थ्य आवश्यकतालाई समेत प्राथमिकतामा राखेको जनाएको छ । प्रभावित क्षेत्रमा निःशुल्क आँखा परीक्षण, उपचार तथा परामर्श सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइएको सङ्घले जनाएको छ ।

सङ्घका कार्यकारी निर्देशक डा. शैलेश मिश्रले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सरकारले गरिरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार मानवीय सहयोग तथा स्वास्थ्य सेवा प्रवाहलाई निरन्तरता दिने बताउनुभयो ।

महासचिव चन्दका अनुसार सङ्घले हालसम्म पाँच करोड दुई लाख ४८९ जनालाई आँखा उपचार सेवा प्रदान गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ ।

सङ्घले हाल २८ वटा आँखा अस्पताल र ४४ जिल्ला शाखाअन्तर्गतका २२६ आँखा उपचार केन्द्रमार्फत नेपालीसहित विभिन्न देशका नागरिकलाई आँखा उपचार सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया