शाहीको माग : ‘सेनालाई धन्यवाद होइन, तलब बढाइदिनुहोस्’

nepalkuro.com

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला उद्धार तथा राहतमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको मनोबल उच्च बनाउन सरकारले तत्काल तलब तथा सेवा–सुविधा वृद्धि गर्नुपर्ने माग गरेका छन्।

रोस्ट्रमबाट सम्बोधन गर्दै शाहीले आफूहरू सरकारको साथमा रहे पनि सरकारका गलत काममा समर्थन गर्ने पक्षमा नरहेको स्पष्ट पारे। उनले सरकारलाई समर्थन गर्नु र सरकारको गुलामी गर्नु फरक कुरा भएको बताए।

‘सरकारको साथमा छु भन्दैमा सरकारको गुलामी गर्छौं भन्ने अवस्था छैन। सेनालाई धन्यवाद होइन, उहाँहरूको तलब बढाइदिनुहोस्,’ शाहीले भने।

उनले विपद्का बेला अग्रपंक्तिमा खटिएर उद्धार तथा राहतमा संलग्न सुरक्षाकर्मीलाई भाषण, भिडियो वा सामाजिक सञ्जालमार्फत धन्यवाद दिनुभन्दा उनीहरूको पारिश्रमिक र सेवा–सुविधा बढाएर वास्तविक सम्मान गर्नुपर्ने बताए।

शाहीले आजै मन्त्रिपरिषद्को बैठक बसेर सुरक्षाकर्मीको तलब वृद्धि गर्न सरकारसँग माग गरे।

उनले सरकारका मन्त्रीहरूले प्रभावकारी रूपमा काम गरे आफूहरू सहयोग गर्न तयार रहेको बताए। ‘यो कसैलाई आरोप लगाउने समय होइन। सरकारका मन्त्रीले राम्रोसँग काम गरुन्। उनीहरूलाई साथ दिन तयार छौं,’ उनले भने।

शाहीले सरकारमाथि सर्वदलीय बैठकसमेत बोलाउन नसकेको आरोप लगाए। उनले आफ्नो जिल्लाका ७२ जना अझै बेपत्ता रहेको उल्लेख गर्दै विपद्को खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया