ओलीको आग्रह–‘पहिलो प्राथमिकता पीडितलाई प्रत्यक्ष राहतमा हुनुपर्छ’
nepalkuro.com
१९ भदौ २०८३, शुक्रबार
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद्बाट प्रभावित पीडितलाई प्रत्यक्ष राहत उपलब्ध गराउनु अहिलेको पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन्।
शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण कार्यक्रममा ओलीले राहत रकम सरकारी कोषमा जम्मा गर्दा लामो समय थन्किन सक्ने भएकाले पीडितको हातमै सहयोग पुर्याउनुपर्ने बताए।
राहत सरकारी कोषलाई नभई पीडित जनतालाई आवश्यक रहेको उल्लेख गर्दै उनले पीडितलाई सहयोग गरिसकेपछि अवस्था र हैसियतअनुसार मात्र सरकारी कोषमा रकम दाखिला गर्न सकिने धारणा राखे।
कार्यक्रममा ओलीले ‘ग्रिन आर्मी’ भन्ने समूहको अस्तित्वप्रति समेत प्रश्न उठाए। गत वर्ष राजनीतिक आन्दोलनका नाममा भएका तोडफोड, लुटपाट, आगजनी तथा हत्याका घटनामा उक्त समूह आफ्नो पोशाकमा नदेखिए पनि अन्य स्वरूपमा संलग्न थियो कि भन्ने विषयमा नेपाली जनताले गम्भीरतापूर्वक सोच्नुपर्ने उनको भनाइ थियो।
ओलीले नेपालले वातावरणीय विनाश नगरेको भए पनि त्यसको असर र क्षति भोग्नुपरेको भन्दै संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चमार्फत विकसित देशहरूसँग दृढतापूर्वक क्षतिपूर्ति माग गर्नुपर्ने बताए।