कृष्णभिरमा सडक अवरुद्ध भएपछि भरतपुर–काठमाडौं हवाई उडान बढ्यो
nepalkuro.com
२२ भदौ २०८३, सोमबार
चितवन– पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भासिएर यातायात अवरुद्ध भएपछि भरतपुर–काठमाडौं हवाई यात्रुको चाप बढेको छ। यात्रुको माग बढेसँगै भरतपुर विमानस्थलबाट काठमाडौंका लागि हुने उडान दोब्बरभन्दा बढी पुर्याइएको छ।
भरतपुरबाट काठमाडौंका लागि हाल बुद्ध एयरले मात्रै नियमित उडान गर्दै आएको छ। बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा दैनिक पाँचवटा उडान हुँदै आएकोमा सडक मार्ग असहज बनेपछि उडान संख्या बढाएर दैनिक ९ देखि ११ वटासम्म पुर्याइएको छ।
काठमाडौं–भरतपुर रुटमा एटीआर–७२ जहाज सञ्चालन हुँदै आएको छ। ७२ यात्रु क्षमताको उक्त जहाजले काठमाडौंबाट भरतपुर आउँदा ६५ देखि ७० जना र भरतपुरबाट काठमाडौं जाँदा करिब ५० जना यात्रु बोक्ने गरेको बस्नेतले जानकारी दिए। भरतपुर विमानस्थलको धावनमार्ग छोटो भएकाले जहाजले आफ्नो पूर्ण क्षमतामा यात्रु बोक्न नसक्ने उनले बताए।
कृष्णभिरमा सडक अवरुद्ध भएपछि चितवनबाट मकवानपुर हुँदै काठमाडौं जाने वैकल्पिक सडकसमेत प्रयोग गर्न सकिन्छ। तर वर्षायाममा सडकमा थप समस्या आउनसक्ने भएकाले यात्रुले हवाई यात्रालाई प्राथमिकता दिन थालेका छन्।
भरतपुरबाट हुने हवाई सेवामा चितवनबाहेक नवलपरासी, गोरखा, तनहुँ, लमजुङ र मकवानपुरलगायत जिल्लाका यात्रुसमेत निर्भर छन्। यात्रुको चापलाई ध्यानमा राख्दै उडान संख्या बढाएर सेवा सहज बनाइएको बुद्ध एयरले जनाएको छ।