मन्त्री नियुक्तिबारे राष्ट्रपति कार्यालयमा औपचारिक पत्र आएन

nepalkuro.com

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले नयाँ मन्त्री नियुक्त गर्ने विषयमा अहिलेसम्म राष्ट्रपति कार्यालयमा कुनै औपचारिक पत्र नआएको बताएका छन्।

खबरहबसँग टेलिफोन सम्पर्कमा कुरा गर्दै प्रवक्ता शाक्यले सञ्चारमाध्यममा विभिन्न चर्चा आए पनि राष्ट्रपति कार्यालयलाई औपचारिक रूपमा मन्त्री नियुक्तिसम्बन्धी जानकारी प्राप्त नभएको स्पष्ट पारे।

‘हामीलाई अहिलेसम्म औपचारिक पत्र आएको छैन। मन्त्रिपरिषद् बैठक बसिरहेको भन्ने जानकारी छ,’ उनले भने, ‘अरु कुनै मन्त्री नियुक्तिको विषयमा पत्र आएको छैन। सञ्चारमाध्यमबाट हामीलाई जानकारी भएको हो। फेक हो कि सत्य हो, थाहा छैन।’

उनले सञ्चारमाध्यममा मन्त्री नियुक्तिबारे आएका समाचारको स्रोतसमेत आफूहरूलाई जानकारी नभएको बताए।‘सञ्चारमाध्यममा कसले यस्तो कुरा बतायो, त्यो हामीलाई जानकारी भएन,’ शाक्यले भने, ‘पत्र आएको खण्डमा आज नै मन्त्रीलाई शपथ ग्रहण गराउन सम्भव छ। तर हामीलाई नढाँटी भन्दा अहिलेसम्म पत्र आएको छैन।’

राष्ट्रपति कार्यालयमा औपचारिक पत्र आएपछि मात्रै मन्त्री नियुक्ति र शपथग्रहणको प्रक्रिया अघि बढ्ने उनको भनाइ छ। सञ्चारमाध्यममा नयाँ मन्त्री नियुक्तिबारे विभिन्न समाचार सार्वजनिक भइरहेका बेला राष्ट्रपति कार्यालयले भने औपचारिक पत्र प्राप्त नभएको जनाएको हो।

प्रतिक्रिया