किम्रुङ खोला थुनिएको आशङ्कापछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

nepalkuro.com

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि घटेपछि पहिरोका कारण खोला थुनिएको हुनसक्ने आशङ्कामा तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

खोलाको बहाव घटेसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले किम्रुङ तथा मोदी खोला किनारका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार मोदी खोला किनारका डिमुवा, अमबोटलगायत बस्तीमा माइकिङ गरी स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ।

उनका अनुसार खोला थुनिएको अवस्थामा एक्कासि पानीको बहाव बढ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराइएको हो।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले स्थानीयवासीबाट पहिरोका कारण किम्रुङ खोला थुनिएको भन्ने सूचना आएपछि तटीय क्षेत्रमा सतर्कता बढाइएको जानकारी दिए।

खोला थुनिएको खबर आएपछि उच्च सतर्कता अपनाइएको छ। सुरक्षित स्थानमा रहन सबैलाई सूचित गरिएको छ,” उनले भने।

प्रशासनले खोला किनारमा रहेका बस्तीका बासिन्दालाई सम्भावित जोखिमलाई ध्यान दिँदै नदी तथा खोलाको किनारमा नजान र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

प्रतिक्रिया