भोटेकोशी बाढीपीडितलाई भेटेर भावुक बने सोनु सूद, दीर्घकालीन सहयोग आवश्यक रहेको बताए

nepalkuro.com

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षति र त्यसपछिको पीडादायी अवस्थालाई नजिकबाट नियालेका बलिउड अभिनेता तथा समाजसेवी सोनु सूदले नेपालमा राहत र पुनःनिर्माणका लागि दीर्घकालीन तथा निरन्तर सहयोग आवश्यक रहेको बताएका छन्।

नुवाकोटमा बाढीपीडित परिवारलाई भेटेपछि भावुक बनेका सूदले बाढीले निम्त्याएको विनाशलाई शब्दमा वर्णन गर्न कठिन रहेको बताएका छन्।

उनले भने, ‘यहाँको विनाश देख्दा जसको पनि मन भक्कानिन्छ। यदि हामीले यस्तो अवस्थामा पनि सहयोग गरेनौँ भने कहिले गर्ने?’

भारत सरकार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई उपलब्ध गराएको सहयोगको प्रशंसा गर्दै उनले उक्त विपद्को असर छोटो समयमा समाप्त नहुने बताए।उनले भने, ‘भारत सरकारले गरेको सहयोग साँच्चै नै सराहनीय छ। तर, यो समस्या केही साता वा महिनामा समाधान हुने खालको छैन। प्रभावितहरूलाई सामान्य जीवनमा फर्काउन हामीले लामो समयसम्म निरन्तर सहयोग गरिरहनुपर्छ।’

सूदले बाढीपीडितहरूको घाउमा मल्हम लगाउन ठूला कर्पोरेट संस्था तथा सामाजिक संघसंस्थालाई समेत अगाडि आउन आग्रह गरेका छन्।

आफ्नो संस्था ‘सूद च्यारिटी फाउन्डेसन’ मार्फत हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले सहयोगका लागि आफू र आफ्नो फाउन्डेसन सधैं तयार रहेको बताएका छन्।

विनाशकारी बाढीका कारण सर्वस्व गुमाएका परिवारहरूको अवस्था देखेर आफू निकै विचलित बनेको बताउँदै सूदले सबैलाई एकजुट भएर नेपालको साथमा उभिन आग्रह गरेका छन्। प्रभावितहरूको जीवन सामान्य अवस्थामा नफर्केसम्म आफ्नो सहयोग अभियान निरन्तर रहने उनको भनाइ छ।अभिनेता सूद भोटेकोशीको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि राहत सामग्री लिएर मंगलबार नेपाल आइपुगेका हुन्।

प्रतिक्रिया