राष्ट्रपति पौडेलद्वारा नुवाकोटका बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी
nepalkuro.com
२२ भदौ २०८३, सोमबार
नुवाकोट– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट जिल्लाको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् ।
राष्ट्रपति पौडेलले जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीसँग बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन तथा पुनःस्थापनाका कामबारे जानकारी लिएका हुन् ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित समितिका सदस्यहरूले भोटेकोशी बाढीबाट जिल्लामा भएको धनजनको क्षतिको विवरण राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढी प्रभावितको खोज तथा उद्धार, राहत वितरण, पुनःस्थापना र तत्काल आवश्यक संरचना निर्माणका लागि भइरहेका कामबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।
त्यसपछि राष्ट्रपति पौडेलले विदुर नगरपालिका–२ स्थित कभर्ड हलमा रहेको होल्डिङ सेन्टरको अवलोकन गरी त्यहाँ आश्रय लिइरहेका रसुवा र नुवाकोटका बाढी प्रभावित नागरिकसँग अन्तरक्रिया गरेका थिए ।
अन्तरक्रियाका क्रममा बाढी प्रभावितले भोटेकोशीमा आएको अकल्पनीय बाढीबाट भएको धनजनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए । उनीहरूले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी र तदारुकताका साथ अघि बढाउन सरकार तथा सहयोगदातासँग आग्रह गरेका थिए ।