सुनसरीको कप्तानगञ्जमा साउन १० गते भएको
घटनापछि सरकारले छानबिन समिति गठन गरेर कर्फ्यू लगाए पनि सुनसरीसहित मधेसका अन्य जिल्लाहरूमा अझै प्रदर्शन रोकिएको छैन । सुनसरी घटनाको बाछिटा मधेसका अन्य जिल्लामा पनि देखिँदै आएको छ । सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरे पनि उक्त समितिप्रति सुनसरीवासी आश्वस्त हुन सकेका छैनन्, जसका कारण स्थिति सामान्य हुनुको साटो थप तनावग्रस्त बन्दै गएको छ ।सुनसरीका देवानगञ्ज र कप्तानगञ्जवासीले प्रधानमन्त्री वा गृहमन्त्री घटनास्थलमा आएर स्थानीयका कुरा सुनिदिए मात्र पनि आफूहरू आश्वस्त हुने बताइरहेका छन् । विभिन्न राजनीतिक दलले शान्ति र सद्भावका लागि आ(आफ्नो ठाउँबाट पहल त गरिरहेका छन्, तर नागरिकका मुख्य अभिभावक मानिने प्रधानमन्त्री वा गृहमन्त्रीले स्थिति अवलोकन गरी सुरक्षाको प्रत्याभूति दिलाएमा यस्ता घटना पुनः दोहोरिने थिएनन् भन्ने सुनसरीवासीको बुझाइ छ ।