काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीपछि जारी उद्धार तथा राहत अभियानमा सरकार प्रभावकारी रूपमा उपस्थित हुन नसकेको आरोप लगाएका छन्।
नुवाकोट, रसुवालगायत बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले तयार पारेको अध्ययन प्रतिवेदन ग्रहण गर्दै ओलीले सरकारले राज्यको सम्पूर्ण सामर्थ्य आफैँमा सीमित गरेर बसेको टिप्पणी गरे।
उनले विपद्को समयमा सरकारको आलोचना गर्ने समय नभए पनि प्रभावित क्षेत्रमा सरकारको उपस्थिति सहज रूपमा महसुस हुन नसकेको बताए। प्रदेश तथा स्थानीय सरकारसँग पर्याप्त समन्वय नगरी केन्द्र सरकारले उद्धार र राहतमा एकल प्रयास गरिरहेको ओलीको आरोप छ।
ओलीले विपद्को समयमा श्रेय कसले लिने भन्नेभन्दा पनि राज्यका सबै संयन्त्र र नागरिक मिलेर समस्या समाधान गर्नुपर्ने बताए। उनका अनुसार प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर अघि बढ्दा उद्धार तथा राहत अभियान अझ प्रभावकारी बन्न सक्थ्यो।
बाढी प्रभावित क्षेत्रमा पर्वतारोहण तथा उद्धारमा दक्ष जनशक्तिको समेत उपयोग गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। सरकारले उपलब्ध सबै विशेषज्ञ र दक्ष जनशक्तिको सहयोग लिन नसकेको ओलीको भनाइ छ।
उनले राष्ट्रिय विपद्को अवस्थालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिँदै विपद् कुनै एक निकाय वा सरकारको मात्र नभई सम्पूर्ण राज्य र समाजको साझा समस्या भएकाले सामूहिक प्रयासबाट समाधान खोज्नुपर्ने बताए।
ओलीले सरकारले अझै पनि आफ्नो भूमिका स्पष्ट पार्दै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा केन्द्र, प्रदेश, स्थानीय तह र नागरिकबीच प्रभावकारी समन्वय कायम गर्नुपर्ने धारणा राखे।