बागमतीका मूर्त–अमूर्त सम्पदा संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धन गरिने

nepalkuro.com

काठमाडौँ — बागमती प्रदेश सरकारले प्रदेशमा रहेका पुरातात्त्विक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र संवर्द्धनलाई प्राथमिकतामा राख्ने भएको छ। प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले मूर्त तथा अमूर्त सम्पदालाई भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्ने गरी आवश्यक नीति तथा कानुनी व्यवस्था गरिने बताएका छन्।

मन्त्री प्रजापतिका अनुसार बागमती प्रदेशमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेका थुप्रै सम्पदा, जात्रा र पर्व छन्। लोप हुने अवस्थामा रहेका मौलिक संस्कृति तथा परम्पराको संरक्षण गर्नुका साथै विगतमा हराइसकेका सम्पदाको खोजी गरी सम्भव भएसम्म पुनःस्थापना गर्ने योजना प्रदेश सरकारको छ।

प्रदेशमा रहेका सम्पदाको संरक्षणका लागि विभिन्न निकायबाट प्राप्त बजेट तथा स्रोतसाधनको पारदर्शी र प्रभावकारी उपयोग गर्ने प्रतिबद्धता पनि मन्त्री प्रजापतिले व्यक्त गरेका छन्।

धार्मिक पर्यटनलाई प्रदेशको पर्यटन विकाससँग जोड्ने योजनाअन्तर्गत १० जिल्लामा रहेका ६४ सिद्ध लिङ्गको प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने मन्त्रालयको तयारी छ। काठमाडौँ, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, धादिङ, नुवाकोट, ललितपुर, सिन्धुपाल्चोक र दोलखामा रहेका यी धार्मिकस्थललाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने सरकारको योजना रहेको उनले बताए।

मन्त्री प्रजापतिले धार्मिक तथा सांस्कृतिक सम्पदासँगै प्राकृतिक पर्यटकीय क्षेत्रको समेत व्यापक प्रचारप्रसार गरी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने बताए।

यसका साथै प्रदेशमा रहेका उद्योगलाई उनीहरूको क्षमता र सम्भावनाअनुसार सञ्चालनमा ल्याएर उत्पादन तथा रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ छ।

श्रम तथा यातायात क्षेत्रलाई पनि सुधारको प्राथमिकतामा राखिएको भन्दै मन्त्री प्रजापतिले प्रदेशका श्रमिकले न्यूनतम पारिश्रमिक पाउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न पहल गर्ने बताए। यातायात क्षेत्रलाई व्यवस्थित बनाउँदै नागरिकलाई सहज, सुरक्षित र सुलभ यातायात सेवा उपलब्ध गराउने वातावरण निर्माण गर्ने उनको प्रतिबद्धता छ।

सम्पदा संरक्षण, धार्मिक पर्यटन र रोजगारीलाई जोडेर बागमती प्रदेशको आर्थिक तथा पर्यटन विकासलाई अघि बढाउने प्रदेश सरकारको लक्ष्य रहेको मन्त्री प्रजापतिले बताएका छन्।

प्रतिक्रिया