‘एउटा सरकारको असहयोगले पूरै पालिकामा सुकुम्वासीको लालपुर्जा रोकिन सक्छ’ : मन्त्री प्रतिभा रावल

nepalkuro.com

कञ्चनपुर– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तहका तीनै तहका सरकार जिम्मेवार भएर समन्वयात्मक ढङ्गले काम गर्नुपर्ने बताएकी छन्।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा आज आयोजित कार्यक्रममा मन्त्री रावलले भूमिसम्बन्धी समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै प्रदेश र स्थानीय सरकारबाट पनि सोहीअनुरूपको सहयोग आवश्यक रहेको स्पष्ट पारिन्।

उनले तीन तहका सरकारबीच आवश्यक समन्वय नहुँदा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा बाधा पुग्न सक्ने बताइन्।

‘एउटा सरकारले सहयोग नगर्दा पुरै पालिकामा सुकुम्वासीको लालपुर्जा वितरण रोकिन सक्छ,’ मन्त्री रावलले भनिन्।

उनका अनुसार पालिकामा देखिएका भूमिसम्बन्धी जटिलता समाधान गर्न नीतिगत सुधारका विषयमा समेत छलफल भइरहेको छ। पीडितका समस्या समयमै सम्बन्धित निकायको जानकारीमा पुगेको भए कतिपय समस्या यसअघि नै समाधान भइसक्ने उनको भनाइ थियो।

‘पीडितका समस्याहरू समयमै जानकारीमा आएको भए अहिलेसम्म समाधानमा गइसकेको हुन्थ्यो,’ उनले भनिन्, ‘पीडितका हकमा जुनसुकै दलमा आस्था राख्ने भए पनि हामी एक ठाउँमा हुनुपर्छ।’

मन्त्री रावलले भूमिसम्बन्धी समस्याबाट पीडित नागरिकको न्यायोचित सम्बोधन हुने विश्वास व्यक्त गर्दै उनीहरूलाई ढुक्क रहन आग्रह गरिन्।

यसअघि मन्त्री रावलले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा भूमि प्रशासन कार्यालय, नापी कार्यालय तथा स्थानीय तहका प्रमुखहरूसँग भूमिसम्बन्धी समस्या समाधानका विषयमा छलफल गरेकी थिइन्। छलफलमा जग्गा व्यवस्थापन, लालपुर्जा वितरण तथा स्थानीयस्तरमा देखिएका विभिन्न समस्याबारे विचारविमर्श भएको थियो।

कञ्चनपुर भ्रमणका क्रममा मन्त्री रावलले महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थल र दोधारा चाँदनीस्थित सुक्खा बन्दरगाह को समेत स्थलगत अवलोकन गरेकी छन्।

उनले सम्बन्धित आयोजना र पूर्वाधारको प्रगतिबारे जानकारी लिँदै स्थानीय विकास, भूमि व्यवस्थापन र आर्थिक गतिविधिसँग जोडिएका विषयमा सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी अघि बढ्नुपर्नेमा जोड दिएकी छन्।

प्रतिक्रिया