भोटेकोशी बाढीपीडितका लागि युनिलिभर नेपालको ५ करोड सहयोग
nepalkuro.com
२३ भदौ २०८३, मङ्गलबार
काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि युनिलिभर नेपाल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले राहत सहयोगसँगै थप करिब २६ टन दैनिक अत्यावश्यक स्वास्थ्य तथा सरसफाइ सामग्री समेत उपलब्ध गराएको जनाएको छ। ती सामग्रीको मूल्य करिब १ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
बाढीपछि प्रदूषण तथा संक्रमणको जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै कम्पनीले लाइफबोय, लक्स, सनसिल्क, क्लोजअप, भिम र रिन लगायतका स्वास्थ्य तथा घरायसी सरसफाइसम्बन्धी सामग्री उपलब्ध गराएको हो।
उक्त सामग्रीले प्रभावित परिवारलाई वरपरको वातावरण स्वच्छ राख्न तथा व्यक्तिगत सरसफाइ कायम गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ।
यस पहलका बारेमा युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले नेपालले हरेक चुनौतीपूर्ण परिस्थितिमा धैर्यता र सहनशीलता प्रदर्शन गर्दै आएको बताए।
“यस्ता कठिन समयमा हामी सबै एकजुट भएर सबैभन्दा बढी प्रभावित समुदायहरूको साथमा उभिनु महत्त्वपूर्ण हुन्छ। हामी जारी राहत प्रयासहरूमा सहयोग पुर्याउन र प्रभावित परिवारहरूलाई पुनःस्थापनाको यात्रामा साथ दिन सक्ने आशा राख्दछौँ,” मुखर्जीले भने।
युनिलिभर नेपालले राहत तथा सरसफाइ सामग्रीमार्फत बाढी प्रभावित समुदायमा तत्काल आवश्यक सहयोग पुर्याउनुका साथै विपद्पछिको पुनःस्थापनामा समेत योगदान गर्ने जनाएको छ।