खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले घरविहीन तथा विपन्न तीन परिवारलाई नयाँ भूकम्प प्रतिरोधी घर निर्माण गरेर हस्तान्तरण गरेको छ। गरिबीका कारण आफ्नै लगानीमा घर बनाउन नसकेका परिवारलाई नगरपालिकाले प्रतिपरिवार पाँच लाख रुपैयाँ लगानीमा दुई कोठे एकतले घर निर्माण गरिदिएको हो।
लामो समयदेखि जीर्ण तथा असुरक्षित घरमा बसोबास गर्दै आएका हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका देशवीर राई, वडा नम्बर–६ मङ्गलटारका भया दमाई तथा वडा नम्बर–१० अर्खौलेका घरविहीन टेकबहादुर सार्कीको परिवारले नयाँ घर पाएका छन्।
नयाँ सुरक्षित आवास पाएपछि वर्षौंदेखि कष्टकर जीवन बिताउँदै आएका तीनै परिवार खुसी भएका छन्।
डिकुवाका वृद्ध दम्पती देशवीर राई लामो समयदेखि जीर्ण कटेरोमा बस्दै आएका थिए। असुरक्षित अवस्थाको उक्त कटेरोमा जीवन बिताइरहेका उनीहरूका लागि नगरपालिकाले भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको हो।
त्यस्तै, मङ्गलटारका अपाङ्गता भएका दाजुबहिनी चामे दमाईं र भया दमाईंको पीडा पनि कम थिएन। आफ्नै सुरक्षित घर नहुँदा कठिन जीवन बिताइरहेका उनीहरूका लागि समेत नगरपालिकाले दुई कोठे भूकम्प प्रतिरोधी घर निर्माण गरिदिएको छ।
अर्का लाभग्राही टेकबहादुर सार्कीको परिवारको कथा अझ पीडादायी छ। अर्खौलेमा जन्मिएका उनी करिब १२ वर्षसम्म गाउँबाहिर विभिन्न ठाउँमा बस्दै आएका थिए। दिक्तेलमा बसोबास गरिरहेका बेला १२ वर्षीया छोरी मृत अवस्थामा भेटिएपछि परिवार गाउँ फर्किएको थियो। गाउँ फर्किएपछि उनीहरू अरूकै घरमा आश्रय लिएर बस्दै आएका थिए।
सार्की परिवारलाई गाउँ फर्किएको समयमा नगरपालिकाले खाद्यान्न र केही नगद सहयोगसमेत गरेको थियो। गाउँमै बसेर जीविकोपार्जन गर्ने चाहना भए पनि आफ्नै घर नहुँदा समस्यामा परेपछि नगरपालिकाले नयाँ घर निर्माण गरिदिएको हो।
सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत तीन विपन्न परिवारलाई भूकम्प प्रतिरोधी दुई कोठे घर निर्माण गरेर हस्तान्तरण गरिएको नगर प्रमुख विमला राईले जानकारी दिइन्।
नगर प्रमुख राईले नगरपालिकाभित्रका सबै नागरिकको सुरक्षित आवास सुनिश्चित गर्ने लक्ष्यका साथ कार्यक्रम अघि बढाइएको बताइन्। उनका अनुसार आफ्नो घर नभएका कारण अरूको सहारामा बस्दै आएका तथा नगरबाहिर अस्थायी बसोबासका क्रममा विस्थापित भएका नगरवासी पुनः आफ्नै नगरपालिकामा फर्किएर स्थायी रूपमा बस्न चाहेमा आवश्यक सहयोग गरिनेछ।
नगरपालिकाले राजधानी काठमाडौँ तथा तराईका विभिन्न जिल्लामा अस्थायी रूपमा बसोबास गर्दै आएका बेला घरटहरा हटाइएपछि विस्थापित भएका नगरवासीलाई पनि पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको जनाएको छ। यसरी पुनःस्थापित हुन चाहने परिवारको आफ्नै नाममा जग्गा भएमा प्रतिपरिवार पाँच लाख रुपैयाँ बराबरको लगानीमा भूकम्प प्रतिरोधी घर निर्माण गरिदिने व्यवस्था गरिएको छ।
नगरपालिकाको १३६औँ कार्यपालिकाको बैठकले विपन्न तीन परिवारका लागि नयाँ भूकम्प प्रतिरोधी घर निर्माण गर्ने निर्णय गरेको थियो।
वर्षौंदेखि अरूको सहारा र जीर्ण कटेरोमा जीवन बिताएका यी तीन परिवारका लागि अब सुरक्षित घर केवल छानो मात्र होइन, नयाँ जीवनको सुरुआत बनेको छ।