विपद्को घडीमा सरकारलाई पूर्ण साथ दिन्छौँ : कांग्रेस सभापति थापा

nepalkuro.com

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकारलाई पूर्ण सहयोग गर्ने बताएका छन्। उनले संकटका बेला सरकारसँग काँधमा काँध मिलाएर उद्धार, राहत र पुनःस्थापनाका काममा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा सभापति थापाले प्रमुख प्रतिपक्षी दलका रूपमा सरकारका कमजोरी औँल्याउँदै सुधारका लागि आवश्यक सुझाव दिने, तर विपद्को समयमा भने सरकारका काममा पूर्ण साथ दिने धारणा राखे।

उनले संघ, प्रदेश र स्थानीय तहबीच देखिएको समन्वयको कमी हटाउन स्पष्ट जिम्मेवारी बाँडफाँट आवश्यक रहेको बताए। विपद् व्यवस्थापनमा तीनै तहका सरकारलाई छुट्टाछुट्टै नभई एउटै टिमका रूपमा परिचालन गर्नुपर्ने उनको भनाइ छ।

सभापति थापाले पार्टीका नेता तथा कार्यकर्तालाई विपद्को समयमा कुनै पनि भ्रामक, मिथ्या वा अपुष्ट सूचना फैलाउने काम नगर्न निर्देशन दिएका छन्।

बैठकले बाढीपहिरो प्रभावित क्षेत्रमा कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता तथा पार्टी संरचनालाई परिचालन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए। त्यस्तै, खोज तथा उद्धार र शव व्यवस्थापनलाई तत्काल प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत भएको छ।

प्रभावित नागरिकका लागि तत्काल खाना, लत्ताकपडा, आवश्यक बन्दोबस्ती तथा स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने कांग्रेसले जनाएको छ। बाढीबाट प्रभावित बालबालिकाको शिक्षामा परेको असरलाई समेत विशेष प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा सभापति थापाले जोड दिएका छन्।

कांग्रेसले विपद्को तत्कालीन राहतसँगै प्रभावित क्षेत्रको अवस्था सामान्य बनाउन उद्धार, राहत, स्वास्थ्य सेवा, शिक्षा र पुनःस्थापनालाई समन्वित रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याएको छ।

प्रतिक्रिया