चेल्सीको कीर्तिमानी कारोबार : ३४९ मिलियन पाउन्ड खर्च, ५०० मिलियनभन्दा बढी आम्दानी
nepalkuro.com
१९ भदौ २०८३, शुक्रबार
लन्डन– सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व हस्तान्तरण भएयता इंग्लिस क्लब चेल्सीले हरेक समर ट्रान्सफर विन्डोमा आश्चर्यजनक निर्णय गर्दै आएको छ। यस पटक पनि क्लबले खेलाडी भित्र्याउन ठूलो रकम खर्च गरे पनि बिक्री र लोन शुल्कबाट त्योभन्दा धेरै आम्दानी गर्दै ट्रान्सफर बजारमा नयाँ कीर्तिमान बनाएको छ।
चेल्सीले यसपटकको ट्रान्सफर विन्डोमा मोगन रोजर्स, म्याक्सेन्स लाक्रोवा र एमिलियानो मार्टिनेजसहित ११ जना नयाँ खेलाडी भित्र्याउन ३४ करोड ९० लाख पाउन्ड खर्च गरेको छ। तर भारी रकम खर्च गरे पनि खेलाडी बिक्रीबाट भएको आम्दानीका कारण क्लबले समग्र कारोबारमा नाफा कमाएको छ।
यस समरमा चेल्सीबाट कुल ३९ जना खेलाडी बाहिरिएका छन्। तीमध्ये १७ जनालाई स्थायी रूपमा बिक्री गरिएको छ भने २२ जनालाई ऋणमा पठाइएको छ। लोनमा पठाइएका चार खेलाडीका सम्झौतामा पछि अनिवार्य वा वैकल्पिक रूपमा खरिद गर्नुपर्ने सर्त राखिएको छ, जसको सम्भावित मूल्य १४ करोड पाउन्डभन्दा बढी रहेको छ।
यसमा सम्झौतामुक्त गरिएका चार युवा खेलाडीलाई भने समावेश गरिएको छैन। यति धेरै खेलाडी बाहिरिएपछि पनि चेल्सीको आधिकारिक वेबसाइटअनुसार सिनियर टोलीमा अझै ३० खेलाडी सूचीकृत छन्।
चेल्सीको आन्तरिक तथ्याङ्कअनुसार खेलाडी बिक्री तथा लोन शुल्कबाट क्लबले यस समरमा ५० करोड पाउन्डभन्दा बढी रकम सङ्कलन गरेको छ। बीबीसी स्पोर्ट्सका अनुसार ट्रान्सफर कारोबारबाट चेल्सीले करिब १२ करोड पाउन्ड नाफा कमाएको अनुमान गरिएको छ।
बाहिरिएका खेलाडीमध्ये मध्यक्रमका एन्जो फर्नान्डेज १२ करोड ५० लाख पाउन्डमा म्यानचेस्टर सिटी पुगेका छन्। त्यस्तै, सेनेगलका स्ट्राइकर निकोलस ज्याक्सन ६ करोड ५० लाख पाउन्डमा एस्टन भिल्ला तथा स्पेनिस फुलब्याक मार्क कुकुरेला ५ करोड १८ लाख पाउन्डमा रियल मड्रिड पुगेका छन्। लियाम डेलाप र आन्द्रे सान्तोस पनि करिब ५ करोड पाउन्डको सम्झौतामा बिक्री भएका छन्।
चेल्सीले ४ करोड पाउन्डभन्दा बढी मूल्यमा पाँच खेलाडी बिक्री गरेको छ। टोटेनहममा लोनमा पठाइएका मिखाइलो मुड्रिकको ७ करोड ५० लाख पाउन्डको खरिद विकल्प तथा एस्टन भिल्ला पुगेका अलेहान्ड्रो गार्नाचोको ४ करोड ३० लाख पाउन्डको अनिवार्य खरिद सर्तलाई समेत जोड्दा यस्तो कारोबार गर्ने खेलाडीको संख्या सात पुग्छ।
तुलनात्मक रूपमा हेर्दा सोही अवधिमा इटालीको सिरी ‘ए’ मा ४, स्पेनको ला लिगामा २ र जर्मनीको बुन्डेसलिगामा ४ वटा मात्रै ४ करोड पाउन्डभन्दा माथिका ट्रान्सफर भएका थिए।
यसरी चेल्सीले ठूलो रकम खर्च गर्दै नयाँ खेलाडी भित्र्याउनुका साथै पुराना खेलाडीको बिक्रीबाट अझ ठूलो रकम उठाएर ट्रान्सफर बजारमा आर्थिक रूपमा असाधारण कारोबार गरेको छ।