ताप्लेजुङ– ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्।
आठराई त्रिवेणी गाउँपालिका–हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर सोमबार बिहान मैवाखोला पुलको छेउबाट करिब १५ मिटर तल खसेर खोलाले बगाएको हो।
दुर्घटनापछि ट्याक्टरमा सवार मेरिङदेन गाउँपालिका–६ नाल्बोका १४ वर्षीय समीर नाल्बो इलाका प्रहरी कार्यालय दोभानमा पुगेर घटनाबारे जानकारी गराएका थिए।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईका अनुसार ट्याक्टर पुलबाट करिब २० मिटर तल मैवाखोलाको बगरमा भेटिएको छ। ट्याक्टर चालकको ठेगाना तत्काल नखुलेका समीर बराइली र ट्याक्टरमा सवार अनिल नाल्बोलाई खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ।
बेपत्ताको खोजीका लागि प्रहरी निरीक्षक विन्देश्वर यादवको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ। ट्याक्टर अरुण भेनियर कम्पनीको रहेको र कम्पनीका सञ्चालक प्रकाश नाल्बोसँग आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय दोभानबाट करिब ८०० मिटर उत्तरतर्फ पर्छ।