काठमाडौं– रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्कविहीन भएका छन्।
रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीपछि उनीहरू सम्पर्कविहीन भएका हुन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवा भन्सार कार्यालयमा कार्यरत ११ जना स्थायी कर्मचारी र तीन जना करारका कर्मचारी सम्पर्कविहीन छन्।
यस्तै, रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गानासहित २५ जना कर्मचारी भने सम्पर्कमा आएका छन्।
कार्यालयमा चार जना करार तथा ज्यालादारी कर्मचारी रहेकोमा एक जना सम्पर्कमा आएको बताइएको छ। बाढीका कारण टिमुरे क्षेत्रका विभिन्न संरचनामा क्षति पुगेको र कर्मचारीको अवस्था यकिन गर्न उद्धार तथा खोजी कार्य भइरहेको जनाइएको छ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको टिमुरे तथा आसपासका क्षेत्रमा जनधन र भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। सम्पर्कविहीन कर्मचारीको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले प्रयास जारी राखेका छन्।