वनस्खण्डी मन्दिर : हेटौँडाको धार्मिक तथा पर्यटकीय आकर्षण बन्दै

nepalkuro.com

हेटौँडा– हेटौँडा उपमहानगरपालिका–२ मा अवस्थित वनस्खण्डी मन्दिर यस क्षेत्रको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । औद्योगिक शहर हेटौँडाबाट करिब डेढ किलोमिटर उत्तरपूर्वमा रहेको यो मन्दिर पहाडको फेदीमा हराभरा वनजङ्गलको बीचमा अवस्थित छ ।

पछिल्लो समय मन्दिर परिसर वनभोज, विवाह, व्रतबन्ध तथा विभिन्न सार्वजनिक कार्यक्रमका लागि समेत आकर्षक स्थल बनेको छ । युवायुवतीका लागि टिकटक तथा सामाजिक सञ्जालका सामग्री बनाउने गन्तव्यका रूपमा पनि यसको आकर्षण बढ्दै गएको छ ।

मन्दिरका पूजारी विष्णुप्रसाद घिमिरेका अनुसार सार्वजनिक बिदा, बिहान तथा साँझको समयसँगै महत्वपूर्ण तिथिमिति र पर्वमा यहाँ दर्शनार्थीको उल्लेख्य आगमन हुने गरेको छ । मन्दिर परिसरमा ठूलो ॐकार, विन्ध्यवासिनी मन्दिर, शिवालय, भीमसेन मन्दिर, साइबाबा, हनुमान, भैरव, तिलेश्वर महादेव तथा राधाकृष्ण मन्दिरलगायतका धार्मिक संरचना रहेका छन् ।

वनस्खण्डी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भवसागर श्रेष्ठका अनुसार मन्दिरसहित यहाँ रहेका विभिन्न धार्मिक संरचना करिब चार बिघा क्षेत्रफलमा फैलिएका छन् । करिब १०० हेक्टर क्षेत्रफलमा फैलिएको वनस्खण्डी सामुदायिक वनभित्र गुम्बा, माता मन्दिर, जलेश्वर महादेव, ल क्याम्पस तथा नेवा सङ्ग्रहालयलगायतका संरचना पनि रहेका छन् ।

धार्मिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्य

वनस्खण्डी क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरी हेटौँडामा पुग्नैपर्ने स्थलका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको श्रेष्ठले बताए । पछिल्लो समय निर्माण भएका विभिन्न पूर्वाधारका कारण पनि यो क्षेत्र आकर्षणको केन्द्र बन्दै गएको छ ।

मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वासका कारण हेटौँडा तथा आसपासका क्षेत्रबाट दर्शनार्थी यहाँ आउने गरेका छन् । वनभोजसँगै विवाह, व्रतबन्ध तथा अन्य कार्यक्रमका लागि पनि मन्दिर क्षेत्र रोजाइमा पर्न थालेको वन समूहका सदस्य राजनप्रसाद पौडेलले बताए ।

उनका अनुसार सबै पक्षको एकताबद्ध प्रयासबाट यस क्षेत्रको विकास गर्न आवश्यक छ । हेटौँडा उपमहानगरपालिकाले पनि वनस्खण्डी मन्दिरलाई नगर क्षेत्रभित्रका महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलमध्ये एकका रूपमा लिएको छ ।

इतिहाससँग जोडिएको वनस्खण्डी

इतिहासअनुसार नेपाल एकीकरणका क्रममा विसं १८१९ भदौ ९ गते पृथ्वीनारायण शाहका गोरखाली सैनिकबाट मकवानपुरका राजा तथा पृथ्वीनारायण शाहका जेठान दिग्बन्धन सेन पराजित भएका थिए । त्यसपछि बङ्गालका मिर कासिमको सहयोग लिएर पुनः युद्ध लडिए पनि विसं १८१९ माघ १० गते पृथ्वीनारायण शाहकै विजय भएको इतिहासमा उल्लेख छ ।

एक किंवदन्तीअनुसार राज्य सुरक्षाका लागि यस क्षेत्रको जङ्गलमा जोगीलाई गुप्तचरका रूपमा राखिएको थियो । ‘वनस्खण्डी’ नामका एक जोगीले ढुङ्गालाई देवी मानेर पूजा गर्ने गरेको र पूजा गर्ने स्थान खण्ड–खण्ड परेको वन क्षेत्रमा रहेकाले यस क्षेत्रको नाम वनस्खण्डी रहन गएको विश्वास गरिन्छ ।

दसैँको फूलपाती मुख्य आकर्षण

वनस्खण्डी मन्दिर पर्यटन विकास समितिका अध्यक्ष राममान श्रेष्ठका अनुसार दसैँका बेला यहाँ भित्राइने फूलपाती विशेष आकर्षणका रूपमा रहेको छ । गोरेक्षश्वर धाम मन्दिरबाट धार्मिक शोभायात्रासहित फूलपाती ल्याएर वनस्खण्डी मन्दिरमा भित्र्याउने प्रचलन छ ।

उनका अनुसार करिब २० वर्षदेखि मन्दिरमा फूलपाती भित्र्याउने गरिए पनि पछिल्लो १० वर्षयता नेपाली सेना तथा सरकारी निकायका प्रतिनिधिसहित धुमधामका साथ फूलपाती भित्र्याउने गरिएको छ ।

हेटौँडाको व्यस्त बजारबाट नजिकै रहेको यस क्षेत्रलाई थप व्यवस्थित गर्दै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके आसपासको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । धार्मिक पर्यटक तथा दर्शनार्थीको आगमन बढेमा स्थानीयस्तरमा टीका–प्रसाद, चिया, खाजा तथा अन्य व्यवसायसमेत विस्तार हुने स्थानीयवासीको विश्वास छ ।

प्रतिक्रिया