काठमाडौँ– नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले संयुक्त गस्तीको क्षेत्र विस्तार गर्ने तथा सीमा अपराधसम्बन्धी सूचना नियमित रूपमा आदानप्रदान गर्ने सहमति जनाएका छन्।
महोत्तरीको सदरमुकाम जलेश्वरमा शनिबार सम्पन्न नेपाल–भारत सुरक्षा अधिकारीबीचको समन्वयात्मक बैठकमा सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रण तथा रोकथामका विषयमा विस्तृत छलफल भएको हो।
महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार पोखरेलका अनुसार बैठकमा हातहतियार तथा लागूऔषध ओसारपसार, मानव तस्करीलगायत सीमा अपराध नियन्त्रण, सीमा स्तम्भको सुरक्षा तथा मर्मतसम्भारका विषयमा विशेष रूपमा छलफल गरिएको थियो।
बैठकले दुवै देशका सुरक्षाकर्मीले हालसम्म सञ्चालन गर्दै आएको संयुक्त गस्तीलाई थप विस्तार गर्ने सहमति गरेको छ। साथै, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि घटनासम्बन्धी महत्त्वपूर्ण सूचना एकअर्कासँग नियमित रूपमा साझा गर्ने विषयमा पनि सहमति भएको पोखरेलले जानकारी दिए।
उनका अनुसार बैठक मुख्य रूपमा नेपाल र भारतका सुरक्षा निकायबीच पारस्परिक समन्वय र सहकार्यलाई अझ मजबुत बनाउने विषयमा केन्द्रित थियो। खुला सीमाका कारण देखिन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै दुवै पक्षले संयुक्त रूपमा निगरानी र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बैठकमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर, भारतको सीतामढीका जिल्ला मजिस्ट्रेट तनय सुल्तानिया तथा सीतामढीका प्रहरी उपरीक्षक अमित रञ्जनसहित दुवै देशका सम्बन्धित सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो।