भोटेकोशी बाढीपछि ढुंगेमा भीड बढ्यो, उद्धार तथा सरसफाइमा समस्या
nepalkuro.com
१४ भदौ २०८३, आईतबार
नुवाकोट — भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित विदुर नगरपालिका–ढुंगे बजार क्षेत्रमा सर्वसाधारण र सञ्चारमाध्यमको भीड बढेपछि उद्धार तथा सरसफाइमा खटिएका टोलीलाई काम गर्न कठिन भएको छ।
सडक पहुँच सहज भएका कारण बाढीबाट क्षतिग्रस्त ढुंगे बजारको अवस्था हेर्न सर्वसाधारणको ठूलो भीड लाग्ने गरेको छ। त्यस्तै, घटनाको समाचार सङ्कलनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिसमेत ठूलो सङ्ख्यामा पुगेका छन्।
भीड बढेपछि सडक तथा बस्तीमा थुप्रिएको बाढीको लेदो, ढुङ्गा र गेग्रान हटाउने काम प्रभावित भएको सुरक्षाकर्मीले बताएका छन्। उद्धारमा प्रयोग भइरहेका उपकरण तथा अत्यावश्यक सवारीसाधनको आवतजावतमा समेत अवरोध सिर्जना भएको छ।
स्थिति नियन्त्रणमा लिन सुरक्षा निकायले माइकिङ गर्दै अनावश्यक रूपमा घटनास्थलमा भीड नगर्न र आफ्नो गन्तव्यतर्फ जान सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रशासन तथा सुरक्षाकर्मीले विपद्को समयमा उद्धार टोलीलाई काम गर्न सहज वातावरण आवश्यक पर्ने भन्दै उद्धार तथा राहत कार्यमा अवरोध नहुने गरी सुरक्षित दूरी कायम गर्न सबैसँग अनुरोध गरेका छन्।
बाढीबाट ढुंगे बजार क्षेत्रमा ठूलो क्षति पुगेपछि अहिले प्रभावित क्षेत्रमा थुप्रिएको लेदो तथा गेग्रान हटाउने, सडक खुलाउने र जोखिमयुक्त संरचनाको व्यवस्थापन गर्ने काम भइरहेको छ।