भदौ २३ र २४ का घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
nepalkuro.com
२४ भदौ २०८३, बुधबार
काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८२ साल भदौ २३ र २४ गते भएका घटनाको सत्यतथ्य निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धानमार्फत स्थापित गर्नुपर्ने बताएकी छन् ।
एक वर्षअघि भएका ती घटनाको स्मरण गर्दै बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भण्डारीले भदौ २३ गते भएको मानवीय क्षति र त्यसपछिको भदौ २४ गते भएको हिंसा, आगजनी, तोडफोड तथा सार्वजनिक र निजी सम्पत्तिको विनाशलाई एउटै प्रकृतिका घटनाका रूपमा हेर्न नहुने बताएकी हुन् ।
आन्दोलनका क्रममा उठाइएका जायज माग र त्यसको मूल भावनाभन्दा फरक गतिविधि भएको तथा बाह्य घुसपैठ वा अवाञ्छित तत्वको संलग्नताको प्रश्नसमेत उठेकाले त्यसबारे निष्पक्ष अनुसन्धान आवश्यक रहेको उनले उल्लेख गरेकी छन् ।
भण्डारीले राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो अनुसन्धान प्रतिवेदन सार्वजनिक गरी सरकारलाई विभिन्न सिफारिस गरिसकेको उल्लेख गर्दै सरकारद्वारा गठित छानबिन आयोगको प्रतिवेदन भने औपचारिक रूपमा सार्वजनिक नभएको बताएकी छन् । सञ्चारमाध्यममार्फत आयोगका केही विवरण बाहिरिए पनि घटनाको समग्र प्रकृति र संलग्न पक्षको भूमिकासम्बन्धी प्रश्न अझै पूर्ण रूपमा निरूपण नभएको उनको भनाइ छ ।
उनले कुनै राजनीतिक पूर्वाग्रह वा आग्रह नराखी दुवै दिनका घटनाको सत्य, तथ्य र जिम्मेवारी स्थापित गर्नुपर्नेमा जोड दिएकी छन् ।
‘न्याय कसैलाई राजनीतिक प्रतिशोधका आधारमा दोषी ठहर गर्नु होइन,’ भण्डारीले भनेकी छन्, ‘प्रमाण र कानुनका आधारमा दोषीलाई जवाफदेही बनाउनु र निर्दोषमाथि अन्याय हुन नदिनु नै न्यायको मूल मर्म हो ।’
राज्यका निकाय र आन्दोलनमा सहभागी नागरिक सबैका लागि कानुन समान हुनुपर्ने उनको धारणा छ ।
भण्डारीले एक वर्षको अवधिमा देशको राजनीतिक परिस्थितिमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै उक्त घटनाबाट उत्पन्न राजनीतिक असन्तुष्टि र नयाँ पुस्ताको आकाङ्क्षाले नेपाली राजनीतिमा नयाँ परिस्थिति सिर्जना गरेको बताएकी छन् । निर्वाचनमार्फत जनताले आफ्नो अभिमतसमेत व्यक्त गरिसकेको उल्लेख गर्दै उनले पछिल्लो परिवर्तनलाई लोकतान्त्रिक प्रक्रियाबाट संस्थागत गर्नुपर्नेमा जोड दिएकी छन् ।
सुशासन, पारदर्शिता, जवाफदेहिता र समृद्धिको दिशामा अघि बढ्नु सबैको साझा जिम्मेवारी भएको उनले बताएकी छन् ।
गत वर्ष आफूले नयाँ पुस्ताले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र जवाफदेहिताका मागलाई सकारात्मक रूपमा लिँदै लोकतान्त्रिक विधिबाट समाधान खोज्न आग्रह गरेको स्मरण गर्दै भण्डारीले नागरिकका आवाज र असहमतिलाई सम्मान गर्नुपर्ने बताएकी छन् ।
तर लोकतन्त्रमा अधिकारसँगै जिम्मेवारी पनि जोडिने उल्लेख गर्दै उनले नागरिकको जीवनभन्दा ठूलो कुनै राजनीतिक माग हुन नसक्ने र सार्वजनिक सम्पत्तिभन्दा ठूलो कुनै आन्दोलन हुन नसक्ने धारणा राखेकी छन् ।
भण्डारीले भदौ २३ र २४ का घटनाबाट उत्पन्न पीडालाई राजनीतिक विभाजन र प्रतिशोधको आधार बनाउन नहुने बताएकी छन् । ती घटनालाई राष्ट्रिय आत्मसमीक्षा र सुधारको अवसरका रूपमा लिनुपर्ने उनको भनाइ छ ।
‘सशक्त प्रश्नलाई संवादमा बदलौँ, असहमतिलाई लोकतान्त्रिक विधिबाट सम्बोधन गरौँ र विभाजनलाई राष्ट्रिय एकताले जितौँ,’ उनले भनेकी छन्, ‘यही नै ती दुःखद घटनाका पीडितहरूप्रतिको सच्चा सम्मान र भावी पुस्ताप्रतिको हाम्रो जिम्मेवारी हुनेछ ।’