जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक वर्षमा जिल्लाका आठ स्थानीय तहका ९०४ जनाले जन्म र मृत्युका बेला प्रदान गरिने ३० केजी चामल सुविधा लिएका छन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख मनोज जोशीका अनुसार जन्मतर्फ ५५८ जना र मृत्युतर्फ ३४६ जनाले अनुदानको चामल प्राप्त गरेका हुन्।
चामल लिनेहरूमध्ये मोटा चामल जन्मतर्फ ५०९ जना र मृत्युतर्फ ४९ जनाले लिएका छन्। त्यस्तै जिरो मसिनो चामल जन्मतर्फ ३११ जना र मृत्युतर्फ ३५ जनाले लिएको कार्यालयले जनाएको छ।
गत आर्थिक वर्षमा जन्म र मृत्यु हुँदा रु १९ लाख ७२ हजार बराबरको २७१ क्विन्टल चामल वितरण गरिएको प्रमुख जोशीले जानकारी दिए। चामल वितरणका क्रममा ज्यालामा मात्रै रु चार लाख २८ हजार ५०० खर्च भएको उनले बताए। उक्त अनुदानको चामल लिने सेवाग्राहीलाई यातायात खर्चसमेत उपलब्ध गराउने व्यवस्था छ। जन्मतर्फ २२० जनालाई रु एक हजार र ३८० जनालाई रु ५०० यातायात खर्च प्रदान गरिएको छ। त्यसैगरी मृत्युतर्फ १९ जनालाई रु एक हजार र ३५ जनालाई रु ५०० यातायात खर्च उपलब्ध गराइएको छ।
हिमा, सिंजा, तिला र कनकासुन्दरी गाउँपालिकाका स्थानीयले चामलसँगै रु एक हजार यातायात खर्च पाउने गरेका छन्। यस्तै तातोपानी, गुठीचौर, पातारासी गाउँपालिका तथा चन्दननाथ नगरपालिकाका स्थानीयलाई रु ५०० यातायात खर्च दिने व्यवस्था रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाले जनाएको छ।
यो सुविधा लिन जन्म भएको ३५ दिनभित्र जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस आवश्यक पर्नेछ। मृत्युको हकमा मृत्युदर्ता प्रमाणपत्र, वडाको सिफारिस तथा सेवा लिन आउने सेवाग्राहीको नागरिकताको प्रतिलिपि आवश्यक पर्ने कम्पनीले जनाएको छ।यो सुविधा लिन जन्म भएको ३५ दिनभित्र जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस आवश्यक पर्नेछ। मृत्युको हकमा मृत्युदर्ता प्रमाणपत्र, वडाको सिफारिस तथा सेवा लिन आउने सेवाग्राहीको नागरिकताको प्रतिलिपि आवश्यक पर्ने कम्पनीले जनाएको छ।
विसं २०७३ भदौमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जन्म र मृत्यु हुँदा प्रतिपरिवार निःशुल्क ३० केजी चामल उपलब्ध गराउने घोषणा गरेको थियो।
हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी जुम्लामा एक हजार ९०० क्विन्टल खाद्यान्न मौज्दात रहेको कार्यालयले जनाएको छ।