सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या दुई पुगेको छ। सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारकै क्रममा बिहीबार दिउँसो विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो।मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार चिकित्सकले दिउँसो १ः२४ बजे जयप्रकाशलाई मृत घोषणा गरेका हुन । गोली लाग्दा उनको पेटमा गम्भीर चोट लागेको थियो र आन्द्रा बाहिर निस्किएको थियो। सोमबार शल्यक्रिया गरिए पनि अवस्था सुधार हुन नसकेपछि उनी भेन्टिलेटरमा उपचाररत थिए । उनको शव हाल अस्पतालमै राखिएको छ ।यसअघि आइतबार राति भएको घटनामा गोली लागेर घाइते भएका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको उपचारका लागि न्युरो अस्पताल पु¥याइएलगत्तै राति १०ः४० बजे मृत्यु भएको थियो । उनको शव पनि हालसम्म अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।