तीजको रौनकमा बाढीको पीडा : महोत्सव स्थगित गर्दै राहतमा जुटे महिला तथा संघसंस्था

nepalkuro.com

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता आएको विनाशकारी बाढीका कारण मुलुक शोकमा रहेका बेला नजिकिँदै गरेको तीज पर्वको रौनकसमेत प्रभावित भएको छ। तीजलाई लक्षित गरी आयोजना गरिएका मेला–महोत्सव तथा विभिन्न सांस्कृतिक कार्यक्रम स्थगित हुन थालेका छन्।

कार्यक्रममा हुने खर्च जोगाएर आयोजक तथा महिला समूहहरूले बाढी प्रभावितका लागि राहत सहयोग गर्न थालेका छन्। गाउँटोल तथा विभिन्न समूहमा हुने ससाना दरखाने कार्यक्रमसमेत रोक्दै महिलाहरू विपद्मा परेकालाई सहयोग गर्न अग्रसर भएका छन्।

पोखरा, लामाचौरस्थित नवआदर्श सामुदायिक विकास समाजले २८औँ संस्करणको लामाचौर तीज महोत्सव–२०८३ तथा लामाचौर कप खुला पुरुष र अन्तरमाध्यमिक विद्यालय छात्रा भलिबल प्रतियोगिता स्थगित गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ११ हजार १११ सहयोग गर्ने निर्णय गरेको छ।

विभिन्न जिल्लामा बाढीबाट ठूलो जनधनको क्षति भएपछि तीज महोत्सवमा हुने खर्चबापतको रकम बाढी प्रभावितलाई राहतस्वरूप प्रदान गर्ने निर्णय गरिएको समाजले जनाएको छ।

त्यस्तै, पोखरामा महिला पर्यटन व्यवसायीको संस्था **महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)**ले तीज कार्यक्रम स्थगित गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख २१ हजार १०० जम्मा गरेको मञ्चकी अध्यक्ष ममता न्यौपानेले जानकारी दिइन्।

महिला पर्यटन व्यवसायीहरूले सामूहिक दरखाने कार्यक्रमका लागि छुट्याएको रकम बाढी प्रभावितको राहतमा खर्च गरेका हुन्। विनाशकारी बाढीका कारण मुलुक आक्रान्त भएका बेला खर्चिला तथा मनोरञ्जनात्मक कार्यक्रम नगरी विपद्मा परेकालाई सहयोग गर्ने सङ्घसंस्थाको सङ्ख्या बढ्दै गएको छ।

यसैगरी, प्रबुद्ध युवा समूह, बागलुङले आगामी साता आयोजना गर्ने तयारी गरेको ‘गण्डकी प्रदेशस्तरीय दोस्रो अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता’ स्थगित गरी कार्यक्रमका लागि सङ्कलित रु. १ लाख बाढी प्रभावितको राहतमा खर्च गरेको छ। समूहको टोली बागलुङबाट राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा पुगेर फर्किएको समूहका अध्यक्ष रोहित सुनारले जानकारी दिए।

“देश नै शोकमा डुबेका बेला तीज कार्यक्रम गर्नु उचित नहुने देखेपछि स्थगित गर्‍यौँ,” उनले भने, “कार्यक्रमका लागि सङ्कलन भएको रकमबाट बाढी प्रभावितलाई राहत सामग्री वितरण गरेका हौँ।”

गलकोट समाज, पोखराले पनि तीजको दरखाने तथा सांस्कृतिक कार्यक्रम स्थगित गरी त्यसमा हुने खर्चबापतको रु. २ लाख ७५ हजार ५५५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। गुठी युवा क्लब, बागलुङले पनि तीज मेला स्थगित गरी बाढी प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ।

बाढी प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि यसरी नै स्वतःस्फूर्त रूपमा सहयोग जुट्ने क्रम जारी छ। सङ्कलित राहतलाई एकद्वार प्रणालीमार्फत प्रभावित परिवारसम्म पुर्‍याउन राज्यका निकायले सहजीकरण गरिरहेका छन्।

सरकारी निकायसँगै जनस्तरबाट पनि बाढी प्रभावितका लागि सहयोग गर्ने अग्रसरता बढेको छ। जनप्रतिनिधि, उद्योगी, व्यवसायी, पेसाकर्मी, कलाकारलगायत विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाहरू एकल र सामूहिक रूपमा राहत सहयोग अभियानमा जोडिएका छन्।

प्रतिक्रिया