प्रतिनिधिसभाबाट भोटेकोशी बाढीसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित

nepalkuro.com

काठमाडौं– प्रतिनिधिसभाको बैठकले भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

प्रस्ताव प्रस्तुत गर्दै सभामुख अर्यालले भोटेकोशी बाढीमा परी ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा सम्बन्धित राष्ट्रप्रति समवेदना व्यक्त गरे। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे।

सभामुख अर्यालले विपद्बाट प्रभावित नागरिकको आर्थिक तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेको र त्यसबाट नेपालका हिमनदी तथा हिमतालमा समेत परिवर्तन भइरहेको बताए। जलवायु परिवर्तनबाट सिर्जित राष्ट्रिय सुरक्षा चुनौतीबारे अन्तर्राष्ट्रियस्तरमा नेपालले आफ्नो मुद्दा थप बलियो रूपमा स्थापित गर्नुपर्नेमा उनले जोड दिए।

‘रसुवा विपद्ले हामीलाई महत्त्वपूर्ण पाठ सिकाएको छ। विपद्पछिको व्यवस्थापनमात्र होइन, पूर्वतयारीको संस्कृति निर्माण गर्नुपर्दछ। हिमताल र हिमनदीको नियमित अनुगमन प्राथमिकतामा राख्नुपर्दछ,’ सभामुख अर्यालले भने।

उनले तीनै तहका सरकार, सबै राजनीतिक दल, नागरिक समाज तथा राज्यका सम्पूर्ण संयन्त्र र स्रोत परिचालन गरी उद्धारलाई तीव्रता दिन तथा विस्थापित नागरिकको पुनःस्थापना गर्न आग्रह गरे।

भोटेकोशी बाढीमा परी ज्यान गुमाउने नागरिकको आत्माको चीरशान्तिको कामना गर्दै प्रतिनिधिसभा बैठकमा एक मिनेट मौनधारणसमेत गरिएको थियो।

प्रतिनिधिसभाको अर्को बैठक भदौ १८ गते दिउँसो १ बजे बस्नेछ।

प्रतिक्रिया