वर्षाको कहरः १० जिल्लाका सडक प्रभावित, राजमार्गदेखि लोकपथसम्म अवरुद्ध

nepalkuro.com

काठमाडौँ– लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् भने केही सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

प्रहरी प्रधान कार्यालयले दिएको पछिल्लो विवरणअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडक वर्षा, बाढी, पहिरो तथा सडक भासिने समस्याका कारण प्रभावित भएका छन्।

काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन राति १० बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिएको छ। उक्त सडकमा अर्को सूचना जारी नभएसम्म रातिको समयमा सवारी सञ्चालन गर्न नपाइने जनाइएको छ।

यसैबीच, इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सो स्थानमा यात्रुका लागि वैकल्पिक बाटो रहेको जनाइएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरो खस्दा तथा सोही गाउँपालिका–२ लिपिङ क्षेत्रमा सडक भासिँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

रसुवामा पनि वर्षाले सडक सञ्जालमा ठूलो असर पुर्‍याएको छ। उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड त्रिशूली नदीले कटान गरेपछि पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै, गोसाइकुण्ड गाउँपालिका–२ स्याउपार्किङमा पहिरो खस्दा पासाङल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यसैगरी, रोल्पाको थवाङ गाउँपालिका–२ लाद्रेमा आज बिहान पहिरो खस्दा सहिद राजमार्ग समेत पूर्ण रूपमा अवरुद्ध भएको छ।

वर्षासँगै पहिरो र बाढीको जोखिम अझै कायम रहेकाले प्रहरी प्रधान कार्यालयले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्नसमेत यात्रुलाई अनुरोध गरिएको छ।

वर्षा जारी रहेकाले पहिरो र सडक अवरोधको अवस्था थप परिवर्तन हुन सक्ने भन्दै यात्रु तथा सवारीचालकलाई सतर्क रहन आग्रह गरिएको छ।

प्रतिक्रिया