दुखुखोला पुल संरक्षणमा जलविद्युत् आयोजनाको ५० लाख लगानी

nepalkuro.com

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको बेनी–दरवाङ सडकअन्तर्गत मंगला गाउँपालिका–२ र मालिका गाउँपालिका–६ को सीमामा रहेको दुखुखोलाको सडक पुल जलविद्युत् आयोजनाको सहयोगमा संरक्षण गरिने भएको छ।

दुखुखोलामा आएको बाढीले पुलको संरचनामा क्षति पुर्‍याएपछि पुल भासिने जोखिम बढेको छ। जोखिमलाई ध्यानमा राख्दै बढी तौलका सामान बोकेका ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले सरकारी प्रक्रियाबाट काम गर्दा ढिलाइ हुने भएकाले जलविद्युत् आयोजनाको रु. ५० लाख लगानीमा पुल संरक्षणको काम सुरु भएको जानकारी दिइन्।

उनका अनुसार म्याग्दी नदी बेसिनमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूले साझेदारीमा पुल संरक्षण गर्ने सहमति गरेका छन्। पुल संरक्षणको अवधिमा ठूला सवारीसाधन सञ्चालनका लागि आवश्यक वैकल्पिक व्यवस्थाबारे समेत स्थलगत अध्ययन गरिएको छ।

पुलको जगमुनिबाट खोला बग्न थालेको तथा पहुँचमार्ग कटान भएर साँघुरिएको अवस्थामा यात्रुवाहक सवारीसाधन र जलविद्युत् आयोजनाका निर्माण सामग्री बोकेका ठूला ट्रक सञ्चालन गर्दा पुल जुनसुकै बेला भासिएर दुर्घटना हुने जोखिम रहेको छ।

पुलमा थप समस्या आए मालिका, धवलागिरि र तमानखोला गाउँपालिकाको बेनीसँगको सिधा यातायात सम्पर्क नै टुट्न सक्ने अवस्था रहेको छ।

पुल संरक्षणका लागि ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ३७ मेगावाटको अपर म्याग्दी, ५३.५ मेगावाटको अपर म्याग्दी–१, २५ मेगावाटको दरवाङ म्याग्दीखोला, १४ मेगावाटको मुदीखोला र ६ मेगावाटको दरखोला जलविद्युत् आयोजनाले साझेदारी गर्ने सहमति जनाएका छन्।

दुखुखोला पुल तथा फापरखेतको पहिरोका कारण जलविद्युत् आयोजनाका निर्माण सामग्री र उपकरण ढुवानीमा समेत समस्या भइरहेको छ। सङ्घीयता लागू हुनुअघि तत्कालीन जिल्ला प्राविधिक कार्यालयले २० मिटर लामो र ६ मिटर फराकिलो पुल निर्माण गरेको थियो।

रु. २ करोड ६ लाख लागतमा २०७६ सालमा निर्माण सम्पन्न भएको उक्त पुल केही दिनअघि आएको बाढीका कारण जोखिममा परेको हो।

मालिकाधुरीको फेदीमा मुहान रहेको दुखु ठाडोखोला हो। यसअघि पूर्वाधार विकास कार्यालय म्याग्दीले डोजर परिचालन गरी खोला डाइभर्सन गर्नुका साथै पर्खाल बनाएर पुलको पिलर र पहुँचमार्गको अस्थायी संरक्षण गरेको थियो।

प्रतिक्रिया