बाढीपछि उद्धारमा कमजोरी भएको भए सरकारको तर्फबाट माफी माग्छु : गृहमन्त्री गुरुङ

nepalkuro.com

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बाढीपछि जारी खोज तथा उद्धार, शव व्यवस्थापन र राहत वितरणका लागि सरकारले सम्पूर्ण शक्ति परिचालन गरेको दाबी गरेका छन् । उद्धारका क्रममा केही कमजोरी भएको हुन सक्ने स्वीकार गर्दै उनले त्यसका लागि सर्वसाधारणसँग माफी मागेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले अपेक्षाभन्दा ठूलो विपद्का कारण सुरुवाती उद्धारमा केही कठिनाइ भएको बताए । बाढीपछि पहिलोपटक सञ्चारकर्मीसँग प्रत्यक्ष कुराकानी गर्दै उनले प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको जानकारी दिए ।

गुरुङका अनुसार सुरुङभित्र फसेका व्यक्तिको सकुशल उद्धारका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको छ । पावरहाउसको माथिल्लो भागबाट सुरुङसम्म पुग्ने गरी प्वाल बनाएर हावा र खाद्यान्न पठाउन सकिन्छ कि भनेर प्रयास भइरहेको उनले बताए ।

दलदल तथा सुरुङ थुनिएका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको उनको भनाइ छ । विदेशी विज्ञ टोलीसमेत उद्धारमा खटिए पनि सुरुङभित्रको कठिन भौगोलिक अवस्थाले थप चुनौती सिर्जना गरेको उनले बताए ।

सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै निजी क्षेत्रका हेलिकोप्टर उडानमा रोक लगाइएको मन्त्री गुरुङले स्पष्ट पारे । उद्धारका क्रममा थप मानवीय क्षति हुन नदिन आवश्यक सुरक्षा मापदण्डलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।

बाढी आएको भोलिपल्टदेखि नै नुवाकोट पुगेर स्थलगत समन्वयमा खटिएका गुरुङले सीमित स्रोत–साधनका बाबजुद सुरक्षाकर्मीले अधिकतम क्षमतामा काम गरिरहेको दाबी गरे ।

“राज्यको भएभरको संयन्त्र परिचालन गरेका छौँ । डाँडाकाँडामा अलपत्र परेकाको हेलिकोप्टरमार्फत रेकी गरी उद्धार र राहत पहुँच बढाउने काम भइरहेको छ,” उनले भने ।

नेपालको इतिहासमै विपद् उद्धारका क्रममा यति धेरै हेलिकोप्टर पहिलोपटक परिचालन गरिएको दाबी गर्दै उनले प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्राथमिकताका साथ अघि बढाइएको बताए ।

गृहमन्त्री गुरुङले उद्धार तथा राहत कार्यमा सरकारको तर्फबाट कुनै कमजोरी भएको भए त्यसलाई सच्याउन सरकार तयार रहेको बताउँदै सरकारलाई खबरदारी गर्न सर्वसाधारणसँग आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया