नेपाल ‘ए’ ले न्युजिल्यान्ड ‘ए’ लाई दियो २१२ रनको लक्ष्य
nepalkuro.com
२१ भदौ २०८३, आईतबार
काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले न्युजिल्यान्ड ‘ए’ लाई जितका लागि २ सय १२ रनको लक्ष्य दिएको छ ।
डार्विनस्थित मारारा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ११ रन बनाएको हो ।
नेपालका लागि अलराउन्डर पवन सर्राफले अर्धशतकीय पारी खेले । उनले ९२ बलमा ६ चौका प्रहार गर्दै सर्वाधिक ५९ रन बनाए । त्यस्तै लोकेश बमले ६४ बलमा ४ छक्का र १ चौकाको मद्दतमा ४७ रन जोडे ।
कप्तान अनिलकुमार साहले २४, मयन यादवले २० तथा विपिन खत्रीले १२ रनको योगदान दिए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
न्युजिल्यान्ड ‘ए’का बलर म्याथ्यू फिसरले ९ ओभरमा ३७ रन खर्चेर ४ विकेट लिए । उनको उत्कृष्ट बलिङका कारण नेपाल ठूलो योगफल बनाउनबाट रोकिएको हो ।
अघिल्ला दुई खेलमा नेपाल तासमानियासँग २ विकेट तथा दक्षिण अष्ट्रेलियासँग १३८ रनले पराजित भएको थियो । त्यसैले अन्तिम खेलमा न्युजिल्यान्ड ‘ए’लाई पराजित गर्दै अष्ट्रेलिया भ्रमणको सुखद अन्त्य गर्ने लक्ष्यमा नेपाली टोली रहेको छ । अब न्युजिल्यान्ड ‘ए’ले २१२ रनको लक्ष्य पछ्याउनेछ ।