माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धार तीव्र, सुरुङमा जमेको पानीको निकास खुलाइयो
nepalkuro.com
१९ भदौ २०८३, शुक्रबार
काठमाडौँ – भोटेकोशी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रमा खोज तथा उद्धारकार्यलाई तीव्रता दिइएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट जलविद्युत् केन्द्रमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारकार्य जारी राखिएको हो। प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार नेपाली सेनाको टोलीले टनेलको मुखमा जमेको करिब १५ फिटसम्मको लेदो हटाएर सुरुङभित्र प्रवेश गरेको छ।
सेनाको टोलीले सुरुङभित्र थप अगाडिसम्म पुग्ने प्रयास गरिरहेको प्राधिकरणले जनाएको छ। दिनरात नभनी गरिएको प्रयासपछि सुरुङमा जमेको पानीलाई निकास दिन प्राविधिक टोली सफल भएको र यसबाट उद्धारकार्य थप सहज भएको प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
खोज तथा उद्धारकार्यलाई प्रभावकारी बनाउन कुनै पनि स्रोतसाधनको अभाव हुन नदिने निर्णय नेपाल विद्युत् प्राधिकरणको व्यवस्थापन समितिको बैठकले गरेको छ। बैठकले आवश्यक बजेट, खाद्यान्न तथा अन्य सामग्रीको व्यवस्थापन, प्राप्ति, खर्च र त्यसको अभिलेख राख्नेसमेत निर्णय गरेको छ।
यसैबीच, बाढीका कारण सम्पर्कविहीन भएका कर्मचारी तथा कामदारको विवरण अद्यावधिक गर्न प्राधिकरणले समन्वय समिति गठन गरेको छ। जनसाधन विभागका निर्देशकको संयोजकत्वमा गठन गरिएको समितिले सम्पर्कविहीन कर्मचारीका परिवारसँग समन्वय गर्दै उनीहरूको पीरमर्का तथा गुनासो सुन्ने व्यवस्था मिलाएको छ।
सम्पर्कमा नआएका कर्मचारीका केही आफन्तजनलाई बाढीबाट क्षतिग्रस्त पावरहाउस क्षेत्रसम्मै पुर्याएर घटनास्थलको अवस्था र उद्धार प्रयासबारे स्थलगत जानकारी गराउने व्यवस्था समेत गरिएको प्राधिकरणले जनाएको छ।